युवाले प्रतियोगिता चलाए, सरकारले मैदान बनाउन बजेट दिएनः कोटेली एरोडा चौराहमा जय भुवन कप सुरु

Image

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेली ऐरोडास्थित चौराह खेलमैदानमा क्रिकेट प्रतियोगिता आयोजना हुन थालेको चार वर्ष बितिसकेको छ । तर, मैदानले अझै पूर्णता पाउन सकेको छैन । संघीय र प्रदेश सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा निर्माणाधीन मैदानको पूर्वाधार विकास प्रभावित बनेको छ ।

यही मैदानमा मंगलबारदेखि चौथो संस्करणको जय भुवन कप जिल्ला स्तरीय खुला टी–२० क्रिकेट प्रतियोगिता २०८३ सुरु भएको छ । नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । प्रतियोगितामा जिल्लाका विभिन्न १० टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

सदरमुकाम बागबजारदेखि करिब १६ किलोमिटरको दूरीमा पोखरा–बेलापुर सडकखण्डको छेउमै रहेको चौराह खेलमैदान डडेल्धुराको क्रिकेट विकासका लागि सम्भावनायुक्त मैदानका रूपमा देखिएको छ । सदरमुकाममै व्यवस्थित क्रिकेट मैदानको अभाव भइरहेका बेला गाउँपालिकामा ५० मिटर बाउन्ड्री भएको खेलमैदान निर्माण हुनु सकारात्मक भए पनि आवश्यक पूर्वाधार नहुँदा यसको पूर्ण उपयोग हुन सकेको छैन ।

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अवस्थीले मैदान निर्माणलाई प्राथमिकतामा राखेर संघीय र प्रदेश सरकारसँग आवश्यक बजेटका लागि योजना माग गरे पनि छनोट हुन नसकेको बताए । उनले सरकारले स्थानीय तह, युवा र खेलकुद क्षेत्रलाई नै उपेक्षा गरेको गुनासो गरे ।

मैदान र आवश्यक पूर्वाधारको अभावका बाबजुद नवदुर्गालगायत यस क्षेत्रका युवाको सक्रियतामा विगत चार वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना हुनु प्रशंसनीय भएको उनले बताए । प्रतियोगिता स्वच्छ र स्वस्थ प्रतिस्पर्धाका साथ सम्पन्न हुने विश्वास व्यक्त गर्दै अध्यक्ष अवस्थीले सहभागी खेलाडी तथा टोलीलाई शुभकामना दिए ।

गाउँपालिका उपाध्यक्ष निर्मला बोगटी विष्टले भने मैदान निर्माणका लागि जनप्रतिनिधिले पहल गरेको दाबी गरिरहँदा आफूले गरेका पहल र प्रयासबारे पनि आत्मसमीक्षा गर्नुपर्ने बताइन् । खेलमैदान निर्माण र खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्धतासँगै परिणाममुखी प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं राष्ट्रिय छनोटकर्ता वासुदेव जोशीले जिल्लाको सदरमुकाम क्षेत्रमा समेत यति उपयुक्त क्रिकेट मैदान निर्माण हुन नसकेको बताए । सदरमुकामबाहिर गाउँपालिकामा ५० मिटर बाउन्ड्री भएको मैदान निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले मैदानलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधार थप्नुपर्नेमा जोड दिए ।

प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सागर ऐरले जानकारी दिए ।

त्यस्तै, म्यान अफ द सिरिजलाई पाँच हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी टोलीका लागि २२ हजार रुपैयाँ टिम दर्ता शुल्क निर्धारण गरिएको छ ।

‘पर्यटन प्रवर्द्धन, सामाजिक सद्भाव र स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताको मुख्य प्रायोजक नवदुर्गा गाउँपालिका रहेको छ । प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान र क्रिकेट विकाससँगै स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।

स्थानीय युवाको सक्रियतामा चार वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आए पनि मैदान निर्माणले गति लिन नसक्नु विडम्बना बनेको छ । आवश्यक बजेट र पूर्वाधारको व्यवस्था हुन सके चौराह खेलमैदान डडेल्धुरामा क्रिकेट गतिविधि विस्तार गर्ने महत्वपूर्ण खेल केन्द्र बन्न सक्ने देखिन्छ ।