डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका–६ राजुलमा आयोजना हुने बृहत् सांस्कृतिक तथा खुला पुरुष भलिबल प्रतियोगिताको प्रथम र तृतीय पुरस्कारका लागि आर्थिक सहयोग जुटेको छ ।
कात्तिक १९ देखि २१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कारका लागि डडेल्धुरा जेसीजले १ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएको छ । त्यस्तै, तृतीय पुरस्कारका लागि एकीकृत विकास समाज (आइडिएस) ले ४४ हजार ४४४ रुपैयाँ आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामार्फत स्थानीय स्तरमा रहेका खेलप्रतिभाको पहिचान तथा प्रोत्साहन गर्नुका साथै खेलकुद, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा खुला पुरुष भलिबलसहित विभिन्न सांस्कृतिक तथा खेलकुद गतिविधि सञ्चालन गरिनेछ । प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने दुवै संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ ।
अजयमेरु गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरि सिंह भण्डारीले स्थानीय प्रतिभाको विकास र खेलकुद क्षेत्रको प्रवर्द्धनमा सहयोगदाताको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहकार्यको अपेक्षा गरेका छन् ।













