जय भुवन कप क्रिकेट आजदेखि सुरु हुँदै, विजेताले एक लाख ११ हजार पुरस्कार पाउने

Image

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ कोटेली ऐरोडास्थित चौराह खेलमैदानमा आजदेखि चौथो संस्करणको जय भुवन कप जिल्ला स्तरीय खुला टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

जय भुवन युवा क्लबको आयोजनामा कात्तिक १७ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ८० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष सागर ऐर जानकारी दिए ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको छ । म्यान अफ द सिरिजलाई पाँच हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा आज बिहान १० बजे प्रतियोगिताको उद्घाटन पछि डडेल्धुरा डाइनामाइट्स र पद्मा देवी कन्स्ट्रक्सनबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको दोस्रो दिन कात्तिक १८ गते बिहान ९ बजे जय भुवन ए र गौमाता सेवक युवा क्लब तथा दिउँसो १ बजे एफवाईसी डडेल्धुरा र निसर्ग किङ्स युवा क्लब बीबीच खेल हुनेछ ।

कात्तिक १९ गते बिहान ९ बजे जय भुवन बी र लक्ष्मी अटो पार्ट्सबीच तथा दिउँसो १ बजे परबास कन्स्ट्रक्सन र पहिलो खेलको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, कात्तिक २० गते बिहान ९ बजे निसर्ग किङ्स युवा क्लब ए र चौथो खेलको विजेताबीच खेल हुनेछ । सोही दिन दिउँसो १ बजे दोस्रो र पाँचौँ खेलका विजेताबीच पहिलो सेमिफाइनल हुनेछ ।

कात्तिक २१ गते बिहान १० बजे तेस्रो र छैटौँ खेलका विजेताबीच दोस्रो सेमिफाइनल हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २२ गते बिहान १० बजे हुनेछ ।

पर्यटन प्रवर्द्धन, सामाजिक सद्भाव र स्वस्थ्यका लागि खेलकुद भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताको मुख्य प्रायोजक नवदुर्गा गाउँपालिका रहेको छ । प्रतियोगितामा सहभागी टोलीको टिम दर्ता शुल्क २२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास, नयाँ खेल प्रतिभाको पहिचान तथा खेलकुदमार्फत सामाजिक सद्भाव र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने आयोजकको अपेक्षा छ ।