काठमाडौं । नेपाल मेडिसिटी अस्पतालमा मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त आन्दोलनमा उत्रिएका छन् । अस्पतालले उपचाररत बिरामीको प्रत्यारोपण गरेको मिर्गौला गायब बनाएको भन्दै बिरामीका आफ्न्त चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन ।
मृतकका आफ्न्त कुमार राईका अनुसार इलामका ३८ वर्षका सरोज सुब्बाको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा असोज ६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रत्यारोपण गरेको केही दिनमा नै अस्पतालले बिरामीलाई अस्पतालबाट डिस्जार्च गरेको थियो । केही समयपछि प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आई बिरामी अस्पतालमा भर्ना भएका थिए ।
राई भन्छन, “इलामका ३८ वर्षका सरोज सुब्बाको मिर्गौला बिग्रिएर असोज ६ गते अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । केही दिनपछि अस्पतालले निको भएको भन्दै डिस्चार्ज गरिदिएको थियो । घर गएको केही समय पछि उनको प्रत्यारोपण गरेको मिर्गौलामा समस्या आएर उनी पुनः अस्पतालमा भर्ना भएका थिए । कार्तिक २१ गते अस्पतालले मिर्गौलामा इन्फेक्सन भएको भन्दै मिर्गौला निकादिएको थियो । मिर्गौला निकालेको भोलि पल्ट नै बिरामीको मृत्यु भयो ।’’
राईले किरिया खर्च पाँच लाख उपलब्ध र दुईवटामध्ये एकजना छोरो पढाइदिने सहमत नभई लाश नबुझ्ने अडान लिएका छन ।
उनी भन्छन,“मृतकको उपचार गर्दा गर्दै उनको परिवार आर्थिक रुपमा निकै कमजोर भइसकेको छ । अब अस्पतालले किरिया खर्च पाँच लाख र उनीका दुईवटा छोरामध्ये एक जनालाई पढाउने सहमत गर्ने हो भने हामी लाश बुझ्न तयार छौँ ।”
घटना बारे के भन्छ मेडिसिटी अस्पताल ?
अस्पतालका सूचना अधिकृत डा. राजु रानाले सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको दाबी गरे ।
उनी भन्छन, “अस्पतालमा इन्फेक्सन भएको होइन । उनको प्रत्यारोपण भइसकेपछि मिर्गौलाले शरीरमा राम्रोसँग काम गर्न सुरु गरेको थियो । स्वस्थ भइसकेपछि हामीहरुले अस्पतालबाट डिस्चार्ज गरेका थियौँ । मिर्गौला प्रत्यारोपणको करिब दुई महिनापछि इन्फेक्सन भएर बिरामीको मृत्यु भएको हो ।”
यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था छ । कानुनी प्रक्रिया हुँदाहुँदै मृतकका आफन्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवत जावतमा समस्या निम्त्याएको डा. राना बताउछन ।
डा. रानाका अनुसार इन्फेक्सन शरीरभरी फैलिसकेपछि परिवारको सल्लाहमा नै मृतकको प्रत्यारोपण गरेको मिर्गौला झिकेर वायप्सीको लागि पठाइएको हो । इन्फेक्सन शरीरभरी फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको डा. रानाले जानकारी दिए ।
उनले भने,“बिरामीको मिर्गौला प्रत्यरोपण गरेको करिब २ महिनापछि इन्फेक्सन भएको हो । मृतकका आफ्न्तले क्षतिपूर्ति माग गर्नु भएको छ । हामीले उनीहरुलाई के आधारमा क्षतिपूर्ति दिने ? कानूनी प्रक्रियामा जानुस हामीले सहयोग गछौँ भन्दा पनि मान्दैनन् ।”












