दार्चुला । छाङरु गाउँमा खानेपानी पुर्याउन प्रामरम्भिक अध्ययन गरिएको छ । प्राविधिकको एक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली मङ्गलवार अध्ययन सकेर फर्किएको हो । छाङरु गाउँमा रिक ११० घरधुरी सौका समुदायको बसोबास रहेको
दार्चुलाको व्यास गाउँपालिका–१, छाङरुमा खानेपानी पुर्याउन सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख इन्जिजियर गोविन्द देवकोटाले बताए । प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा खानेपानी पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए ।
समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको देवकोटाले बताए । छाङरुमा बिजुली बत्ती र बाटो नपुगेकाले योजनाको लागत बढ्न सक्ने बताइएको छ ।
अध्ययन टोली छाङरु पुग्दा अधिकांश परिवार जाडो छल्न दार्चुला खलङ्गा झर्ने तयारी गरिरहेको देवकोटाले बताए । स्थानीय प्रकाश बोहराले छाङरुमा खानेपानीको योजना लागू हुने भएपछि खुसी लागेको बताए ।
सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधि कार्यालयका रूपमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले बैतडी र दार्चुलामा खानेपानीको योजना निर्माण गर्दै आइरहेको छ ।
कार्यालयमार्फत चालु आर्थिकवर्ष २०८१/०८२ मा मर्मतसहित २९० योजना कार्यान्वयनमा छन् । दार्चुलामा मात्रै गत वर्षसम्म ३० वटा योजना सम्पन्न भएका छन् भने चालु आर्थिक वर्षमा ७९ योजना सञ्चालनमा छन् । यो वर्ष छाङरुमा खानेपानी पुर्याउन विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने बजेट रहेको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।












