काठमाडौँ । विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने भएको छ । तर आंशिक सेवा आइतबार अपराह्नबाट सञ्चालन गरिएको राहदानी विभागले जनाएको छ । केही दिनदेखि ठप्प बनेको विद्युतीय राहदानीसम्बन्धी सेवा पूर्णस्तरमा सञ्चालनमा आउन १५ दिनसम्म समय लाग्न सक्ने जनाउँदै विभागले पहिले लिइएका आवेदन जुन अद्यावधिक र छपाइको प्रक्रियामा गएका थिए त्यससम्बन्धी आंशिक सेवा सञ्चालन गरिएको बताएको छ ।
राहदानी सेवाको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै विभागले स्वदेश र विदेशका उच्चस्तरीय प्राविधिकसहितको टोलीले समस्या समाधानका लागि काम गरिरहेको जनाएको छ । टोलीले समस्या आएदेखि समाधान नभएसम्मको विस्तृत विवरण भविष्यमा आवश्यक सुरक्षाका लागि सुझाव दिने छ ।
विभागका महानिर्देशक तीर्थराज अर्यालले भने, “देशकै तथ्याङ्क सुरक्षासँग जोडिएको विषय विद्युतीय राहदानी सेवा हो, त्यसैले विभागले अत्यन्त सतर्कताका साथ सेवा सञ्चालन गर्नु पर्छ र त्यसै अनुसार काम गरिरहेका छौँ ।”
उनले नेपालको राहदानी सेवाको प्राविधिक पक्ष मजबुत रहेको र राहदानीवाहक र आवेदकहरूको सबै तथ्य तथ्याङ्क सुरक्षित रहेको समेत जानकारी दिए । अनलाइन आवेदन लिने क्रममा सेवाग्राहीको कम्प्युटरबाट आएको भाइरसले सिङ्गो प्रणालीमा नै बाह्य साइबर आक्रमण हुने खतरा रोक्न सेवा बन्द गर्नु परेको जानकारी दिनुहुँदै विभागको प्रणाली सुरक्षामा शङ्का नगर्न उनले आग्रह गरे ।
जिल्लाबाट आएको अनलाइन आवेदनको इमेलमा असावधानीबस क्लिक गरेका कारण एक कम्प्युटरमा भाइरसको समस्या देखिएको दाबी उनले गरे । त्यो भाइरस प्रणालीगत सर्भरमा पुग्न नदिई नष्ट गर्ने प्रक्रियाका क्रममा सेवा अवरुद्ध हुँदा सर्वसाधारणले समस्या खेप्नु परेकोमा विभागले क्षमा मागेको छ ।
विभागले अत्यावश्यक सेवाका रूपमा अनलाइन बुकिङ खुलाउन भने अझै दुई दिन जति समय लाग्ने प्रस्ट पारेको छ । जिल्ला प्रशासनहरूमार्फत दिइने सामान्य सेवासहितका राहदानीका सेवा खुलाउन थप समय लाग्ने छ । अबको एक साताभित्र काठमाडौँ र भक्तपुर जिल्ला प्रशासनमार्फत सेवा सञ्चालन गर्ने गरी विभागले तयारी थालेको महानिर्देशक अर्यालले बताए ।












