डडेल्धुरा । जिल्ला सदरमुकाम बागबजार–किर्तिपुर–डकले सडक विस्तारका लागि सरकारले मुआब्जा बाँडेको भए पनि सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन स्थानीयले आनाकानी गरे पछि डोजर चलाईएको छ । केही दिन यता सडक विभाग र अमरगढी नगरपालिकाले डोजर लगाई संरचना भत्काउन थाले पछि मात्रै स्थानीयहरु टहरा हटाउन थालेका छन ।
बागबजार देखि डकलेसम्म सडक विस्तार गर्न सडक डिभिजन कार्यालय डोटीले मुआब्जा बाँडेर सडकका नाममा जमिन प्राप्त गरिसकेको छ । अमरगढी नगरपालिकाले बारम्बार सडक क्षेत्राधिकार ३० मिटर भित्र पर्ने संरचना हटाउन सूचना जारी गर्दै आईरहेको थियो ।
नगरपालिकाले यस अघि २०८० कात्तिक २० गते पनि बागबजार क्षेत्रमा सडक क्षेत्राधिकार भित्रका सबै संरचना हटाउन डोजर चलाईएको थियो । घरधनी र व्यापारीको अटेरीपछी अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटी आफैले सडक क्षेत्राधिकार भित्र रहेका घर, टहरा, सिढी सबै भत्काउन थालेको थियो । तर केही स्थानीयहरुले मुआब्जा वाफतको रकम पाउन नसकेको भन्दै काम विरोध भएपछि काम रोकिएको थियो ।
हाल सबै घरधनी र जग्गाधनीले मुआब्जा वाफतको रकम बुझिसकेका छन । तर सडकको बिच भाग देखि १५÷१५ मिटर दायाँ बाँया भित्र बनेका संरचना र टहराभने हटाएका थिएनन् । नगरपालिकाले सूचना जारी गर्दासमेत स्थानीयले अटेरी गरे पछि चार दिन यता फेरी डोजर लगाई संरचना र टहरा हटाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० अध्यक्ष खेमराज भट्टले जानकारी दिए ।
उनका अनुसार अहिले अबरोध छैन । डोजरले भत्काउन सुरु गरेपछि स्थानीय आफैले संरचना र टहरा भत्काईर रहेका छन ।
पाँच मिटर मात्रै चौडा कालोपत्रे भएको सडक विस्तार गर्न सरकारले ६० करोड बढी रकम मुआब्जा बाँडेको छ । यो रकम पछिल्ला तीन वर्षमा स्थानीयलाई बाँडेको हो । तर हाल सम्म पनि केही स्थानीयले सडकको दायाँ बायाँ १५÷१५ मिटिर भित्र बनाएका संरचना हटाउनु भएको थिएन ।
अमरगढी नगरपालिका ५ बागबजारको पिपल चौतारा देखि वडा नं. ८ को डकले सम्म सडक विस्तार गर्न सरकारले मुआब्जा वितरण गरेको सडक डिभिजन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीले यो सडक खण्ड निर्माण विस्तरका लागि ९७ करोड बजेट विभागबाट माग गरेको छ । बजेट माग गरेको दुई वर्ष पुगे पनि रकम प्राप्त नभएको कार्यालय प्रमुख भट्टराईले बताए । बजेट प्राप्त हुने बित्तिकै ठेण्डर गर्न सजिलो हुने भएकाले सडक क्षेत्राधिकार भित्रका संरचना हटाउन लागिएको उनले बताए ।
सुदूरपश्चिमका सात पहाडी जिल्लाको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको डडेल्धुरामा साँघुरो सडकले आवतजावतमा सास्ती हुने गरेको छ । जिल्ला सदरमुकामको सडक कालोपत्रे भएको २६ वर्षपछि सडक स्तरोन्नतिको योजना अगाडि बढे पनि निर्माण बजेट नहुदा स्थानीय निरास भएका छन ।
२०३५ सालमा सडक खनिएर पहिलो पटक डडेल्धुरामा गाडी पुगे पनि बजार क्षेत्रको सडक कालोपत्रे भने २०५४ सालमा सुरुवात भई २०५७ मा सम्पन्न भएको थियो ।












