डडेल्धुराका ३१ विद्यालयमा भवन बन्ने

Image

डडेल्धुरा । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका ३१ वटा विद्यालयमा भवन निर्माण हुने भएका छन । सुदूरपश्चिम प्रदेश सामाजिक विकास कार्यालय मार्फत यस वर्ष ३१ वटा विद्यालयमा दुई कोठे भवन निर्माण हुने भएका हुन । प्रत्येक भवन निर्माणका लागि २५ लाखका दरले बजेट विनियोजन भएको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख राधाकृष्ण जोशीले जानकारी दिए ।

शुक्रबार आयोजना गरिएको गत आवको समिक्षा तथा चालु आवको वार्षिक बजेट तथा कार्यक्रम बारे अभिमूखीकरण कार्यक्रममा उनले गत वर्षको भन्दा बजेट बृद्धि भएको बताए । यस अघिका वर्षहरुमा दुई कोठे भवन निर्माणका लागि २१ लाख रुपियाँका दरले बजेट विनियोजन हुदै आएको थियो । यस वर्ष २५ लाखका दरले रकम विनियोजन भएको छ ।

विद्यालय भवनसंगै खेलकुद मैदान, सिप विकास, स्वास्थ्यका योजना पनि निर्माण गर्दै आईरहेको सामाजिक विकास कार्यालयसंग यस वर्ष ६७ योजना भौतिक पूर्वाधार निर्माणका रहेको कार्यालय प्रमुख जोशीले बताए । जस अन्तरगत १० वटा खेल मैदान निर्माण, १६ वटा विद्यालयमा आईसिटी निर्माणका योजनाहरु रहेका छन ।

एउटा विद्यालयमा पाँच लाखका दरले आईसिटी निर्माणका लागि बजेट रहेको उनले बताए । गत वर्ष करिब पाँच करोड मात्रै बजेट रहेको सामाजिक विकास कार्यालयमा यस वर्षको बजेट १५ करोड ७३ लाख रहेको उनले जानकारी दिए ।