डडेल्धुरा । आज भन्दा करिब ६५, ६६ वर्ष अघि आफ्ना बुवासंगै १२,१३ वर्षको उमेरमा एउटा नाबालक बैतडीको सतबाँझ तलको गाउँबाट डडेल्धुराको महाभारत पर्वत क्षेत्र भातकाँडा गाउँमा आईपुग्छ । अहिको जस्तो न सडक थियो नत गाडी नै चल्थे । बिजुली पनि थिएन । मोबाईल, ईन्टरनेटको त कुरै छोडौ । रेडियो पनि मुस्किलले गाउँमा कोही सकैसंग हुन्थ्यो ।
बुवाआमाले खेतीपातीसंगै गाई, भैँसी, बाख्रा पाल्ने गर्थे । यो बाहेक अरु फरक काम सिकिएन । युवा अवस्थासम्म आईपुदा गोठमा २५–३० वटा गाईभैँसी, खोरमा सय भन्दा बढी बाख्रा र बारीमा एक वर्षमा करिब डेढ सय कुन्टल आलु फल्न थाल्यो ।
भातकाँडा गाउँमै पहिलो आलु तरकारी खेती गर्ने किसान तारादत्त भट्टको कथा हो यो । हाल उनीसंगै उनका दुई छोरा विदेशबाट घर फर्किएर तरकारी खेती गर्दै आईरहेका छन ।
७९ वर्षको उमेरमा पनि तरकारी खेती र पशुपालन गर्दै आईरहेका छन डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ भातकाँडा गाउँका जेष्ठ नागरिक तारादत्त भट्ट । कुनै समय डेढ सयको संख्यामा बाख्रा र २०, २५ को संख्यामा गाई, भैँसी पाल्दै आएका भट्टको गोठ र खोरमा अहिले त्यतीको संख्यामा घरपालुवा जनावर छैनन् । तर आलुबाट तरकारी खेती सुरु गरेका भट्टको बारीमा विभिन्न तरकारी भने छ ।
प्लाष्टिकको टर्नेल भित्रि र बाहिर विभिन्न तरकारी खेती गर्दै आईरहेको छ उनको परिवारले । भैँसी, बाख्रा, खरायो संगै हाल कुखुरा पनि छन उनका खोरमा । घर र गोठका भित्तामै २० बढी मौरीका घार पनि छन । उनीसंगै अहिले उनको काममा केही वर्ष यता जेठा र कान्छा छोराले पनि सघाईरहेका छन ।
पछिल्लो समय भातकाँडा गाउँ र बजारको मुहार फेरिदै छ । भट्ट यो गाउँमा आउदा सडक नै नभएको यस क्षेत्रमा अहिले गाउँमूनी कैलाली–दार्चुला जोड्ने कालोपत्रे महाकाली राजमार्ग छ । राजमार्गबाट गाउँसम्म जान सडकबाटो बनेको छ । सडक कालोपत्रे भएको पनि तिन दशक पुग्न लाग्यो ।
सुनसान जंगल मात्रै भएको भातकाँडा गाउमा तीन दशक यता भने सडकमा चल्ने गाडीले गुल्जार बनाएको छ । बारीमा तरकारी खेती फष्टाउदै गएको छ । बजार विस्तार हुदै जाँदा तरकारीको बजारभाउमा कुनै समस्या छैन । भट्टको परिवारले आफ्नै ४० रोपनी जति जमिनमा तरकारी खेती गर्दै खुसीका साथ जीवन बिताईरहेको छ ।












