डडेल्धुरा । चुरे पर्वतमा फैलिएको परशुराम नगरपालिकाले वडा कार्यालयमा योजनाको सम्झौता र भुक्तानी गर्ने गरि काम अघि बढाएको छ । १२ वटा वडा रहेको परशुराम नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का योजना वडा कार्यालयमा सम्झौता गर्न थालेको हो । योजना सम्पन्न भईसकेपछि भुक्तानी पनि वडा कार्यालय बाटै दिईने परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले जानकारी दिए ।
वडा नं. १० का जम्मा २० वटा योजनाहरु मध्ये १४ वटाको मंगलबार बैंक खोता खोली सम्झौता गरिएको उनले बताए । ६ वटा योजनाहरु खरिदका भएकाले सम्झौता नगरिएको उनको भनाई छ । उनका अनुसार मंगलबार वडा नं. १० को कार्यालय बाट वडामै योजनाको सम्झौता गर्ने र बैंक खाता खोल्ने कामको सुरुवात गरिएको थियो ।
प्रमुख प्रशासकिय अधिकृतलगायत योजना शाखाका कर्मचारीहरु र बैंकका कर्मचारीको टोली वडा कार्यालयमा पुगेर योजना सम्झौताको काम थालिएको उनले बताए । वडा नं. १२ र ४ बाहेका १० वटै वडामा टोली पुगेर योजनाको सम्झौतासंगै बैंक खाता खोल्ने अभियान संचालनन गरिएको उनले बताए ।
परशुराम नगरपालिका चुरेको सम्म परेको क्षेत्र भित्रिमधेश भएकाले बाक्ला वस्तिहरु छन । सुदूरपश्चिमका सात पहाडी जिल्लाहरु बाट बसाई सरि भित्रिमधेश क्षेत्र परशुराम नगरपालिकाका वस्तिहरुमा बाक्लो वस्ति बसेको हो । तराईका जिल्लाको जस्तो गर्मि नहुने र उब्जाउ भूमी भएका कारण अन्य क्षेत्रबाट यहाँ बसाई सर्नेको संख्या बढ्दै गएको थियो । परशुराम नगरपालिकाको कुल जनसख्या ३५ हजार ५९० रहेको छ ।
चुरे पर्वत क्षेत्र भएकाले परशुराम नगरपालिकाका वडाका वस्तिहरु दुर्गम छन । खहरे खोलाका कारण वर्षातमा वर्षेनी ठूलो भूक्षयीकरणका हुने गरेको छ । धनजनको समेत क्षती हुने गरेको छ । सडक संजालसंग जोडिए पनि चुरेको कोमल भूभागका कारण वर्षातमा सडकबाटो बग्ने गरेको छ । एक वर्ष निर्माण गरेको सडक बाटो लगायतका कतिपय योजनाहरुको अर्काे वर्ष नक्सामासमेत नभेटिने अवस्था परशुराम नगरपालिकाको छ ।
भएका सडकहरुमा पनि नियमित रुपमा सवारीका साधन संचालन हुदैनन् । यी यस्ता लगायतका थुप्रै समस्याका कारण वडा कार्यालयबाट योजनाको सम्झौता र भुक्तानी दिने व्यवस्थाको सुरुवात गरिएको नगर प्रमुख जोशीले बताए ।
वडामै योजनाको सम्झौता गर्ने, बैंक खाता खोल्ने र भुक्तानी पनि वडा कार्यालयबाटै हुने भएपछि उपभोक्ता समितिलाई निकै सहज भएको स्थानीय दलबहादुर कार्कीले बताए । वडा नं. १० को मुकाम कुर्मुल्लेबाट नगरपालिकाको मुकाम लालढुंगा आउन एक दिनको पैदल बाटो हिड्नुपर्छ । गाडी पाईए त एक घण्टाको बाटो हो । आउजाउ गाडी भाडा पाँच सय भन्दा बढी छ । उनले भने, योजनाको सम्झौता गर्न उपभोक्ता समितिका अध्यक्षलगायत सचिव गरि दुई जना आउदा जाँदा खर्च हुने गथ्र्यो । एक दिनमा सम्झौता हुन नसके दुई, तीन दिन पनि लाग्थ्यो । वडामै योजनाको सम्झौता र बैंक खाता खोलिदा निकै सहज भएको छ ।












