शिक्षक पेशा छोडी महाभारत पर्वतमा किवि खेती, वार्षीक १० लाख बढी कमाई

Image

डडेल्धुरा । शिक्षक पेशा छोडेर एक जना स्थानीयले महाभारत पर्वतको घना जंगलको बिचमा व्यवसायिक किवि फलको खेती गरिरहेका छन । जिल्लाको आलिताल गाउँपालिका २ लामिटुडा गाउँका स्थानीय लक्ष्मण थापा मगरले शिक्षण पेशा छोडेर किवि खेती गर्दै आएका हुन ।

उनले गाउँमा रहेको आफ्नै जमिनमा किवि खेती गरिरहेका छन । दुर्गम क्षेत्र महाभारत पर्वतको घना जंगलमा किभि खेती गरेर उनले वार्षीक १० लाख बढी आम्दानी गरिरहेका छन । ध्रुव कृषि फर्म दर्ता गरि उनले व्यवसायिक रुपमा करिब १५ रोपनि जमिनमा किवि खेती गरिरहेका छन ।

थापा मगरको कृषि फर्म किविमा चासो राख्नेहरुका लागी सिकाई केन्द्रसमेत हुन सक्छ ।

२०६१ देखी २०७३ सालसम्म शिक्षक पेशामा रहेका लक्ष्मण थापा तत्कालीन समयमा बिबिसी नेपाली सेवामा प्रसारण हुने “साझा सवाल” कार्यक्रममा किवि खेती बारे छलफल सुनेपछी किवि खेती तर्फ आकर्षित भएका थिए ।

२०७० सालमा दोलखा बाट ११० वटा किविका विरुवा मगाइ खेती सुरु गरेको उनले बताए । उनको फर्मको क्षेत्रफल अहिले १५ रोपनी भन्दा बढी पुगेका छ । २०७३ सालमा पहिलो पटक साढे तीन कुन्टल किवि उत्पादन भएको उनको बारीमा हाल बार्षिक सरदर ७० देखी ७५ कुन्टलसम्म किवि उत्पादन हुने गरेको छ ।

सुरुको वर्ष किवि प्रतिकिलो पाँच सय रुपैयाका दरले विक्रि गरेका थिए । पछिल्लो समय मूल्य घटे पनि उत्पादन धेरै हुने गरेको उनले बताए ।

२०७७ साल देखी थापाले आफनो फर्ममा नर्सरी निर्माण गरि स्क्रिनघरमा किविको विरुवा उत्पादनसमेत गर्न थालेका छन् । प्रत्येक वर्ष अनुमानित चार हजार थान विरुवा उत्पादन गरि सुदुरपश्चिमका विभिन्न जिल्लामा विक्रि गर्ने गरेको उनले बताए ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा केही वर्ष अघि देखि मात्र किविको उत्पादन सुरु गरिएको थियो । यहाँका किसानहरु बिस्तारै किवि खेती तर्फ आकर्षित हुन थालेका छन् । उनले हाल विरुवा र फल बाट वार्षीक १० लाख बढी आम्दानी गरिरहेको बताए । आउदो वर्ष बाट आम्दानी बृद्धि हुनेमा उनी ढुक्क छन् ।

उनले उत्पादन गरेको किवि काठमाडौंसम्म पठाउने गरेका छन । हाल महाकाली राजमार्गको साहुखर्क बाट ६ किलोमिटरको दुरीमा रहेको फर्म सम्म सडक पुगे पछी ढुवानीको चिन्ता नभएको उनले बताए ।