दुर्गम राजुलमा विकाससँगै खेलकुद र संस्कृतिको उत्सव, जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता

Image

डडेल्धुरा । डडेल्धुरा जिल्लाको सुदूरपश्चिम तथा बैतडीको तल्लो स्वराड क्षेत्रसँग सीमा जोडिएको अजयमेरु गाउँपालिका–६ राजुलमा पछिल्लो समय विकासका पूर्वाधार विस्तारसँगै खेलकुद र सांस्कृतिक गतिविधि पनि बढ्न थालेका छन् । कुनै समय सडक पहुँचसमेत नपुगेको दुर्गम राजुलमा अहिले सडक, विद्युत्, स्वास्थ्य, खानेपानी तथा सिँचाइका पूर्वाधार विस्तार भएका छन् ।

जिल्लाको अन्तिम वडाका रूपमा रहेको राजुलको सीमा बैतडीको तल्लो स्वराड क्षेत्रअन्तर्गत मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विभिन्न वडासँग जोडिएको छ । भौगोलिक विकटताका कारण लामो समय विकासका पूर्वाधारबाट पछाडि परेको यस क्षेत्रमा केही वर्षअघि मात्रै सडकको ट्र्याक खुलेको थियो । सडक पहुँच विस्तार भएसँगै वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, सुरक्षित प्रसूति गृह र नागरिक आरोग्य सेवा केन्द्र आफ्नै भवनबाट सञ्चालनमा आएका छन् । स्थानीयको सुरक्षाका लागि अस्थायी प्रहरी पोस्टसमेत स्थापना गरिएको छ ।

राजुलमा विद्युत् विस्तार हुनुका साथै चेतना माध्यमिक विद्यालयमा विद्यालय भवन निर्माण, पर्खाल तथा घेरबारको काम भएको छ । वडाका विभिन्न बस्तीमा एक घर एक धाराको अवधारणाअनुसार खानेपानी आयोजना निर्माण भइरहेका छन् भने सिँचाइका योजनासमेत सञ्चालनमा आएका छन् । गाउँगाउँसम्म सडक विस्तार गरिएको छ । स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि मठमन्दिर र चौतारासमेत निर्माण तथा संरक्षण गरिएका छन् ।

भौतिक पूर्वाधारसँगै स्थानीय कला, संस्कृति र खेलकुदको विकासलाई पनि प्राथमिकता दिँदै आएको राजुलमा अहिले सांस्कृतिक कार्यक्रमसहित खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ । वडा कार्यालयको आयोजनामा भइरहेको प्रतियोगिता डडेल्धुरा जिल्लाकै हालसम्मको सर्वाधिक पुरस्कार राशि भएको खुला पुरुष भलिबल प्रतियोगिता रहेको आयोजकको दाबी छ ।

प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ५५ हजार ५५५ रुपैयाँ, दोस्रो हुनेले ७७ हजार ७७७ रुपैयाँ र तेस्रो हुने टोलीले ४४ हजार ४४४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको प्रथम पुरस्कार जेसिज डडेल्धुरा वर्ष २०२६ ले प्रायोजन गरेको छ । जेसिज प्रतियोगिताको सहआयोजकसमेत बनेको छ ।

राजुलमा विगत पाँच वर्षदेखि निरन्तर रूपमा भलिबल प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ । दुर्गम क्षेत्रको आवाज बुलन्द गर्नुका साथै स्थानीयस्तरमा रहेका खेल प्रतिभा र कला संस्कृतिको उजागर गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको वडा अध्यक्ष हरि भण्डारीले बताए ।

उनका अनुसार ‘भाषा, साहित्य, खेलकुद र संस्कृति, हातेमालो गरौँ हटाऔँ सामाजिक विकृति’ भन्ने मूल नारासहित प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ । यस्ता गतिविधिले स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै कला, भाषा र संस्कृतिको संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

विकासका पूर्वाधार विस्तारसँगै खेलकुद र संस्कृतिमार्फत आफ्नो पहिचान स्थापित गर्ने प्रयासमा रहेको राजुलले दुर्गम बस्तीमा पनि स्थानीय तहको पहल र सामुदायिक सहभागिताबाट सम्भावनाका ढोका खोल्न सकिने सन्देश दिएको छ ।