३५ वर्ष पछि टीकापुरबाट व्यावसायिक उडान सुरु

Image

टीकापुर । कैलालीको टीकापुर हवाइमैदान पुनः सञ्चालनमा आएको छ । आइतबार तारा एयरले व्यावसायिक उडान भरेपछि पुनः सञ्चालनमा आएको हो ।

यसअघि गत कात्तिक १२ गते नेपाल एयरलाइन्सले परीक्षण उडान गरेको थियो । सोही दिन तारा एयर पनि टीकापुर हवाइमैदानमा अवतरण गरेको थियो । आइतबार पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितका १४ जना टीकापुर हवाइ मैदानमा उत्रिएका छन ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुसहित १५ जना यात्रु काठमाडौंका लागि उडेका छन । तारा एयको सानो जहाजबाट नेपालगञ्ज–टीकापुर उडान हुनेछ भने नेपालगञ्ज—काठमाडौं यति एयरलाइन्सले उडान गर्नेछ । टीकापुरदेखि काठमाडौंको भाडा ९ हजार रुपियाँ तोकिएको छ ।

कम्तीमा १५ सिटको बुक नभएमा बाँकी रकम टीकापुर नगरपालिकाले सोधभर्ना गरिदिने सम्झौता भएको छ ।

पाइलट विज्ञान गुरुङले टीकापुर एयरपोर्टका उडान अवतरणमा सहज बनाउन नजिकै रहेको हेलो नेपालको टावर हटाउनुपर्ने, धावनमार्ग रेखाङ्कन गर्नुपर्ने र पानी परेका बेला पनि प्रयोगमा आउन सक्ने हुनुपर्ने बताए ।

राज्यमन्त्री अरुणकुमार चौधरीले नेपालगञ्जबाट टीकापुर पुग्न १७ मिनेट लागेको बताउँदै अब यात्रुको मागअनुसार पहाडी क्षेत्रमा उडान बढाउने बताए । २०४५ सालसम्म पटक–पटक टीकापुरबाट धनगढी, नेपालगञ्ज–काठमाडौंको यात्रा गरेकी ७२ वर्षीया लक्ष्मीदेवी उपाध्यायले टीकापुरमा ३५ वर्षपछि जहाज आएपछि पहिलो उडानमै काठमाडौं जान लागेको बताईन ।

नागरिक उड्डन कार्यालय धनगढी कार्यालयका प्रमुख गणेशबहादुर सिंहले प्राधिकरणले सुदूरपश्चिममा भएका सबै एयरपोर्टबाट हवाइ सेवा सञ्चालन होस् भन्ने चाहेको बताए । टीकापुरबाट पहिलो दिन दुवैतिर यात्रु पाउनु सुखद भएको उको भनाई छ ।

प्रमुख सिंहका अनुसार आइतबार र विहीबार गरी टीकापुरमा हप्तामा दुई फ्लाइट हुनेछ । टीकापुरबाट २०४० सालमा अछामको साँफेबगर, जुम्ला, काठमाडौं, धनगढी, नेपालगञ्जमा हवाइ यातायात चलेको बताइन्छ ।