डडेल्धुरा । कास्की जिल्लाको पुम्दिकोट पोखरा महानगरपालिकाको वडा नम्बर २२ मा अवस्थित एक पर्यटकीय स्थल हो । यहाँ रहेको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रूपमा रहेको छ । पुम्दिकोट हाल धार्मिक पर्यटकको गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको छ, भने हाल आन्तरिक पर्यटकीय स्थलको रूपमा लोकप्रिय बनेको छ ।
सनातनकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पुम्दीकोटमा यस ५२ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापना गरिएको हो । सो कार्यको लागि आठ हजार वर्गफिटको गोलाकार जगमा यो मुर्ति निर्माण भएको छ ।
नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति राखिएको छ । सौर्य ऊर्जा विधिद्वारा सो परिक्रमा निरन्तररुपमा जारी रहनेछ । तेस्रो तल्लामा फाइबर ग्लासको पद्मासन अवस्थाको महादेवको मूर्ति स्थापना गरिएको छ ।
पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा अवस्थित सो स्थलमा पुग्नका लागि नगर बससमेत सञ्चालन हुने गर्दछन । यस्तै पदयात्राको लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्मको पुरानो बाटोलाई नयाँ पहिचान दिइ यस स्थानसम्म जानेबाटो निर्माण गरिएको छ ।
पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै पर्यटकको घुइँचो लाग्न थालेको छ । पोखरा घुम्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा यसले ख्याती कमाएको छ । त्यसैले दिनहुँ सयौं पर्यटक पुम्दिकोट पुग्ने गरेका छन ।
धार्मिक पर्यटनधाम बनाउने उद्धेश्यले समाजसेवी चन्द्रकान्त बरालको अगुवाइमा मूर्ति सहितका संरचना बनाइएको हो । महायज्ञ गरि आर्थिक संकलन गरेर पूर्वाधार विकासका काम अघि बढाइएको हो ।
धार्मिक आस्था त छँदै छ । हिमालय दर्शनका लागि समेत पुम्दिकोट आकर्षक गन्तव्य हो । यहाँबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङदेखि मनास्लु हिमालसम्मको लामो लर्कन देखिन्छ। त्यतिमात्र होइन, फेवातालसहित पोखरा उपत्यका छर्लङ्ग देखिन्छ। त्यसैले पुम्दिकोट सबै खाले पर्यटकका लागि उपयुक्त छ ।
पुम्दिकोट मुन्तिर विश्व शान्ति स्तुप छ। त्यसैले स्तुप र पुम्दिकोट भ्रमणलाई एउटै रुटमा राखेर घुमफिर गर्न सकिन्छ । खाना र बासका लागि पुम्दिकोट क्षेत्रमा होटल, लज र रेष्टुराँ खुलिसकेका छन ।












