कौडीको भाउमा बेचिन्छन अनमोल जडीबुटी, लाखौमा किनिन्छन्

Image

बैतडी । यहाँबाट गत वर्ष चार लाख किलो जडीबुटी निकासी गरेर सरकारले १६ लाख रुपियाँ राजस्व प्राप्त गरेको छ । बैतडीका चार वटा आयुर्वेदिक अस्पतालका लागि ५० लाख रुपियाँ खर्च गरेर जडीबुटीको चूर्ण खरिद गरेको छ । राज्यलाई तीन गुणा बढी घाटा भए पनि जिल्लामा न प्रशोधन केन्द्र खुल्न सकेको छ न त जडीबुटी निकासीसम्बन्धी नयाँ मापदण्ड नै बन्न सकेको छ ।

बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने जडीबुटी प्रतिकिलो दुई रुपियाँ राजस्व तिरेर बिचौलियाले भारत निकासी गर्दै आएका छन् । डिभिजन वन कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा अमला ७५ हजार किलो, तेजपत्ता ५५ हजार किलो, चुत्रो ३० हजार किलो, पाषाणभेद ३८ हजार किलो, रातो च्याउ पाँच हजार किलो, रिट्ठो एक लाख किलो गरी चार लाख किलो जडीबुटी निकासी भएको छ ।

वनबाट महत्वपूर्ण जडीबुटी अनियन्त्रित ढङ्गले दोहन हुँदा संरक्षणको जिम्मेवारी पाएका प्रदेश र स्थानीय तहको सरकारको भूमिका अत्यन्त कमजोर बन्न पुगेको छ ।

यसरी निकासी हुने जडीबुटी प्रशोधनपछि पुनः महँगो मूल्यमा जिल्ला भित्रिने गरेको दशरथ चन्द नगरपालिका–४ स्थित आयुर्वेदिक अस्पतालका प्रमुख नरेन्द्र कलौनीले बताए । जिल्लामै पाइने पहाडी अमला दुई रुपियाँ प्रतिकिलो राजस्व तिरेर बाहिर गइरहेको अवस्थामा आयुर्वेदिक अस्पतालले दुई हजार रुपियाँ प्रतिकिलो अमलाको चूर्ण किन्नुपर्ने बाध्यता रहेको उनले बताए ।

प्रदेश सरकारमातहत रहेका जिल्ला आयुर्वेदिक अस्पताल मेलौली, स्थानीय तहमातहत रहेका दशरथ चन्द नगरपालिका–१, गुरुखोला, ४ नम्बर वडाको शाहीलेक र सिगास गाउँपालिका–२, गाँजरीमा रहेका आयुर्वेदिक अस्पतालले वार्षिक ५० लाख रुपियाँभन्दा बढी खर्च गरेर बाहिरबाट जडीबुटीको धुलो किन्दै आएका छन् ।

जिल्ला आयुर्वेदिक अस्पताल मेलौलीले मात्रै वार्षिक २५ देखि ३५ लाख रुपियाँको जडीबुटी खरिदमा खर्च हुने गरेको अस्पतालमा लेखापाल प्रेमराज भट्ले बताए ।

आयुर्वेदिक औषधालयमा सरकारले तोकेका २५ किसिमका जडीबुटीको धुलो वितरण गर्न दशरथ चन्द नगरपालिकामा मात्रै वार्षिक रूपमा ११ लाख रुपियाँ खर्च भइरहेको दशरथ चन्द नगरपालिका–४ स्थित आयुर्वेदिक अस्पतालका प्रमुख कलौनीले जानकारी दिए ।

उनले भने, “नगरपालिका भित्र ७० किसिमका जडीबुटी छन् । जिल्लामा प्रशोधन केन्द्र नहुँदा बिचौलियाले न्यून राजस्व तिरेर बाहिर लैजाँदा राज्यलाई ठुलो घाटा भइरहेको छ ।”

स्वदेशमा रोजगारीको अवसर नहुँदा सुदूरपश्चिमका हजारौँ युवाको ऊर्जाशील समय र जवानी भारतमै श्रम गरेर खर्च भइरहेका बेला जडीबुटीको सदुपयोग नहुँदा कौडीको भाउमा भारततिर निकासी हुने गरेको उनले गुनासो गरे ।

बैतडीबाट हरेक वर्ष अमला, तेजपत्ता, सिमजडी, चुत्रो, सुगन्धवाल, अमला, रिट्ठो, हर्रोबर्रोलगायतका जडीबुटी सङ्कलन भएर निकासी हुने गरेको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए ।

तथ्याङ्क अनुसार बैतडीबाट आव २०७८/७९ मा एक लाख ७६ हजार किलो, आव २०७९/८० मा दुई लाख ६४ हजार किलो र आव २०८०/८१ मा चार लाख किलो जडीबुटी निकासी भएको जोशीले बताए ।