अछाम । जिल्लाको कमलबजार विमानस्थलमा तारा एयरको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ। नेपालगन्ज विमानस्थलबाट उडेको तारा एयरको जहाज शनिवार सुरक्षित रूपमा कमलबजार विमानस्थलमा अवतरण गरेको छ ।
यस ऐतिहासिक उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए । परीक्षण उडानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, राज्यमन्त्री अरुण चौधरी, क्याप्टेन सञ्जीव श्रेष्ठ, आरएन कंसकारसहितका विमान कर्मचारीहरू जहाजमा सवार थिए।
परीक्षण उडान सफल भएपछि स्थानीयवासीले यसलाई आफ्नो दशकौं लामो सपना साकार भएको बताएका छन् । जिल्लाका लागि ऐतिहासिक दिन भएकाे भन्दै यश क्षेत्रका नागरिक हवाई यातायातको पहुँचमा आउने स्थानीयहरुले खुसी व्यक्त गरे ।
परीक्षण उडान सफल भएसँगै कमलबजार विमानस्थलमा छिट्टै नियमित हवाई सेवा सुरु हुने अपेक्षा गरिएको छ। यसले अछाम र आसपासका क्षेत्रलाई देशको मुख्य सञ्जालसँग जोड्ने छ । दुर्गम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्थानीय जनप्रतिनिधिको विश्वास छ ।












