कैलाली । जलवायु परिवर्तनले दैनिक घरायसी काममा व्यस्त रहने महिला, बालबालिका र रोजगारीलगायत अवसरको खोजिमा युवा बढी प्रभावित भइरहेको जानकारहरूले बताएका छन् । एक अध्ययन अनुसार जलवायु परिवर्तनको असरले नेपाल र खासगरी सुदूरपश्चिम प्रदेशमा बढी असर पारेको छ ।
जलवायु परिवर्तनका कारण महिला, बालबालिका र युवामा परेको प्रभावबारे कैलालीको धनगढीमा आयोजित बृहत् संवाद कार्यक्रममा प्रमुख अथिति रहनु भएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आवश्यक योजना बनाई कार्वन उत्सर्जन गर्ने देशहरुबाट क्षतीपूर्ती वाफतको रकम खर्च गर्नुपर्ने बताईन ।
मेरो गाउँ डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा केही वर्ष पहिले पानीका मुहान पर्याप्त थिए । उनले भनिन्, अहिले ती मुहानहरु सुकिसकेका छन । करिब एक दशक पहिले मुहान संरक्षण गरि घर घरमा पानी ल्याईएको थियो । अहिले गाउँमा महिला दिन भरी एक गाग्री पानी भर्न पानीका मुहान खोज्दै चिहार्नु परेको मैले देखे । यो सबै जलवायु परिवर्तनको असर हो । यसले महिला र बालबालिकामा ठूलो असर परेको छ । हाम्रा हिमालमा जलवायुको असर अझै ठूलो छ । यसका लागी यहाँ तपाईहरु भेला हुनु भएको छ । योजना बनाउनु होस ।
कार्वन उत्सर्जन गर्ने देशहरु संग क्षतीपूर्तीको रकम माग्न पनि योजना चाहिन्छन । उनले भनिन्, हामिले उक्त रकम के मा खर्च गर्ने भन्ने योजना बनाउनु पर्छ । यो दुई दिने सम्वाद कार्यक्रमले योजना बनाउनुपर्छ । सबै मिलेर आवश्यक योजना बनाई जलवायु परिर्वतका चुनौतीलाई अवसरका रुपमा बदल्नुपर्छ ।
नेदरल्यान्डको हेगमा हालै भएको जलवायुसम्बन्धी छलफल कार्यक्रममा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनमा नेपालको खास भूमिका नरहे पनि कार्बन उत्सर्जन गरेर परिवर्तनमा असर पुर्याइरहेका विश्वका राष्ट्रसमक्ष नेपाललाई सोधभर्ना गर्नुपर्ने अडान राखेको संवादका क्रममा उल्लेख गरिन ।
परराष्ट्रमन्त्री डा. राणा देउवाले जलवायु परिवर्तनका असरले मानवजीवन र विकास पूर्वाधारमा गम्भीर क्षति पुर्यारहेको बताइन् । उनले नेपालमा स्रोतको कमी नभए पनि उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा जलवायुको समस्या जटिल बन्दै गएको उल्लेख गर्दै यसको असर र चुनौती न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय तह सबै मिलेर काम गर्न आवश्यक रहेकामा जोड दिइन् ।
आगमी दश वर्षमा महिला बालबालिकाको जीवनस्तर माथि उकास्न कार्यक्रम केन्द्रित हुनुपर्नेमा जोड दिँदै रुडुकका संस्थापकसमेत रहेकी मन्त्री डा. राणाले देशमा भएका स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गरी जोखिम न्यूनीकरणमा लाग्नुपर्ने बताइन् ।
“नेपालले भएको स्रोतलाई एकीकृत ढङ्गले योजनाबद्ध रूपमा प्रयोग गर्न आवश्यक छ । यसका साथै हामीले सामना गर्नुपरेका जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा समेत जोड्दार रूपमा उठाइरहेका छौँ । आगामी वैशाख, जेठ महिनामा जलवायुसम्बन्धी ‘सगरमाथामा संवाद’ कार्यक्रम गरेर जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि विश्वको ध्यानाकर्षण गराउँदै छौँ । सगरमाथा संवादमा हिमाल पग्लिएर नेपालको मात्रै नभएर संसारकै भविष्य के हुन्छ भन्ने विषयमा संवाद गरिनेछ”, उनले भनिन् ।
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को आयोजनामा सुरु भएको ‘महिला बालबालिका र युवामा जलवायु परिवर्तनका प्रभावः संवाद कार्यक्रम’ मा यस प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जलवायु परिवर्तन न्यूनीकरणका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।
जलवायुका परिवर्तन कारण उत्पन्न हुने समस्या पैदा हुनुमा नेपालको भूमिका नगन्य रहे पनि यसको मारमा भने नेपालजस्ता मुलुक पर्दै आएकामा कार्यक्रमका वक्ताहरूले चिन्ता जाहेर गरे ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘अक्सफाम’ नेपालका कार्यक्रम व्यवस्थापक राजन सुवेदीले जलवायु परिवर्तनको असरले देशको दिगो विकास लक्ष्यलाई पनि असर पुर्यारहेको बताए । यसको असरले अर्थ व्यवस्थामा समेत ठूलो चुनौती थपिरहेको उनको भनाई छ ।
“जलवायु परिवर्तनका कारण नियमित प्राकृतिक चक्र खलबलिएको छ । स्याउ फल्ने बगैँचामा हिँउ नपर्दा हाल स्याउ नफल्नु, चिसो मौसम हुने जिल्लामा लामखुट्टे पुगेर कालाजार देखिनु, पानीका मुहान सुक्दा नदी छेउकै बासिन्दालाई पनि खानेपानीको समस्या, अत्यधिक वर्षा हुनु, सुख्खा र खडेरी, बेमौसमा पनि ठूलो वर्षा भई बाढी, डुबानजस्ता समस्या निम्तिरहेका छन् । यसबाट नेपालजस्ता देश समस्यामा छन्”, सुवेदीले भने ।
अन्तर्राष्ट्रियस्तरका छलफल, बैठकमा सहभागी हुने नेपालका प्रतिनिधिले जलवायु परिवर्तनमा नेपालको भूमिका नरहे पनि त्यसको मारमा पर्नु परेको आवाज उठाउँदै आएका छन् ।
कार्यक्रममा सुदूरपश्चिमस्तरमा जलवायु परिवर्तनबाट पुगिरहेको असरलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल हुँदैछ ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले पनि सरकारले जलवायु परिवर्तनको नीतिअनुरुप गरिरहेका गतिविधि म्बन्धमा सम्बोधन गरेका थिए ।












