पुर्चौडीको हाट स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर

Image

बैतडी । स्वास्थ्य चौकीमै एमबिबिएस डक्टरले दिने उपचार सेवा पाएपछि बिरामीलाई सहज भएको छ । स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, स्वास्थ्य परीक्षणका लागि ल्याब, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र गर्भवतीलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेपछि स्थानीयले गाउँमै स्वास्थ्य सेवा पाउन थालेका छन् ।

१५ शय्याको अस्पतालले दिने सेवा स्वास्थ्य चौकीमै उपलब्ध हुन थालेपछि स्थानीय खुसी भएका छन् । पुर्चौडी नगरपालिकाले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराएपछि जटिल रोगको उपचार बाहेकको सेवा गाउँमै प्राप्त हुन थालेको छ ।

मासिक एक लाख ५० हजार रुपियाँ तलब भत्ता दिनेगरी डाक्टर नियुक्त गरिएको पुर्चौडी नगरपालिका प्रमुख दीपकबहादुर बमले बताए । नगरपालिकाले चिकित्सकको व्यवस्था गरेपछि यस वर्षदेखि स्वास्थ्य संस्थामा जिडिटल एक्स–रे मेशिन जडान भएको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

स्वास्थ्य संस्थामा १५ दिनअघि मात्र डिजिटल एक्स–रे मेशिन जडान भएको उनले बताए । “स्वास्थ्य संस्थामा ९८ प्रकारका निःशुल्क औषधीको पूर्णरुपमा व्यवस्था गरेका छौंं । जनशक्तिका हिसाबले हाट स्वास्थ्य चौकीमा अस्पताल जतिकै सुविधा उपलब्ध गराउने लक्ष्य पूरा गरेका छौं ।” उनले भने,

कुल १० वटा वडा रहेको पुर्चौडी नगरपालिकामा ४० हजार जनसङ्ख्या छ । वडास्तरमा स्वास्थ्य चौकी भए पनि नगरपालिकाको केन्द्र हाटमा रहेको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर, जिडिटल एक्स–रे मेशिन, अत्याधुनिक ल्याब सेवा, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएपछि नागरिक खुसी भएको उपप्रमुख मीना धानुकले बताईन ।

स्वास्थ्य चौकीमा सबै किसिमका सेवा उपलब्ध भएपछि बिरामीको चाप बढेको डा. अनमोल थापाले बताए । ग्रामीण भेगबाट आउने अधिकांश पाका उमेरका बिरामीमा दम रोग र बालबालिकामा निमोनियाको समस्या बढी देखिने गरेको उनले बताए । धूमपान र सुधारिएको चुलो नभएका कारण यस्तो समस्या भएको हुन सक्ने उनको भनाई छ ।

हाट स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म चार हजारभन्दा बढी बिरामीले सेवा लिएको डा. थापाले बताए । तथ्याङ्कअनुसार गत वर्ष नौ हजार पाँचसय बिरामीले सेवा लिएका छन । ओपीडी सेवातर्फ पाँच सय र आकस्मिक सेवा छ सय जनाले लिएको नगरपालिकाको स्वाथ्य शाखाको तथ्याङ्क छ ।

हाट स्वास्थ्य चौकीमा ल्याब सेवा, एक्स–रे, अल्ट्रासाउण्ड, इसिजी र एम्बुलेन्स लगायत जिल्ला अस्पताल बराबरको सुविधा भएपछि पालिकास्तरीय अस्पताल घोषणा गर्ने तयारी भइरहेको नगर प्रमुख दिपमबहादुर बमले बताए ।