रुपा दमाई, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र परशुरामधामको सम्पूर्ण स्वामित्व अब परशुराम नगरपालिका मातहतमा रहने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा परशुराम धामको प्रचार, प्रसार, संरक्षण, सम्बद्र्धन स्थानीय सरकारको मातहतमा रहने भए बमोजिम अब सम्पुर्ण स्वामित्व नगरपालिकाको रहने भएको हो ।
जिल्ला प्रशासनसहितका निकायमा दर्ता भइ क्रियाशिल परशुराम क्षेत्र विकास सिमितिको क्षेत्राधिकार भने नगरपालिकाको नियन्त्रणमा रहने भएको छ । परशुराम क्षेत्र विकास समितिको काम कर्तव्य र अधिकार नगरपालिकाको परशुराम क्षेत्र संरक्षण र विकास सम्बन्धि ऐन २०८१ अनुसार हुने भएको छ ।
यो ऐन राजपत्रमा प्रकाशित भईसकेको छ । नेपालको संविधान २०७२ को अनुसुचि ०८ धाराको ५७, उपधारा (४), धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) धारा २२६ को उपधारा (१) संग सम्बधित स्थानीय तहको अधिकार सुचिको क्र.स.२२ मा उल्लेखित भाषा, संस्कृति र ललितकलाको संरक्षणको अधिकार क्षेत्र भित्र रहि यी यस्ता धार्मिक, पर्यटकिय क्षेत्रको संरक्षण, सम्बद्र्धन र भौतिक पुर्वाधार निर्माण गर्न नीति तथा ऐन जारी गरि नगरपालिकाले परशुराम क्षेत्र विकास समितिलाई मातहतमा ल्याएको नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले जानकारी दिए । अब जारी ऐन अनुसार नयाँ समिति गठनको प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
भगवान बिष्णुको छैटौं अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, साँस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा यस अघि क्षेत्र विकास समितिले गुरु योजना बनाई विभिन्न भौतिक पूर्वाधारसंगै बाँध निर्माण गरेको थियो ।
यहाँ बाबा परशुरामको सबैभन्दा अग्लो मूर्तीसमेत निर्माण गरिएको छ । धाममा परशुरामको ५४ फिट अग्लो मूर्ती निर्माण गरिएको हो । परशुराम धामको गुरुयोजना बनाई विकास गरिन थालिएको छ । धाममा गुरुयोजना अनुसार भौतिक पुर्वाधारको निर्माणसमेत भईरहेको छ ।












