समैजी मन्दिरमा १२५ किलोग्रामको दाइन चढाइयो

Image
कोला समैजी मन्दिरमा चढाईएको १२५ किलोग्रामको दाइन । तस्बिरः धन बहादुर भण्डारी

डडेल्धुरा । समैजी मन्दिरमा १२५ किलोग्रामको झण्डै साढे चार फिट उचाई, चौडाई भएको दमाह बाजा चढाईएको छ । अजमेरु गाउँपालिका १ मा रहेको धार्मिक एतिहांसिक मन्दिर कोला समैजीमा १२५ किलोको दमाहा (दाइन) चढाइएको हो ।

पूर्व राजपरिषद् स्थायी समिति सदस्य स्वर्गीय कर्ण बहादुर भण्डारीका छोरा भक्त भण्डारीले उक्त दमाहा मन्दिरमा चढाएका हुन । धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि मन्दिरमा ठूलो दाईन चढाएको उनले बताए । हाल उनी अमेरिकामा बस्दै आएका छन् ।

देशको संघिय राजधानी काठमाडौंमा निर्माण गरेको उक्त दमाहा २० गते कोला समैजीको मन्दिरमा पुगाईएको थियो । धार्मिक व्यक्तिबाट बोकाएर मन्दिरमा पुगाएको हो । यो दमाहा यस क्षेत्रकै सबैभन्दा ठूलो र महत्व राख्ने भएकाले कोला समैजीको मन्दिरको शोभा बढाउनुका साथै धार्मिक आकर्षणसमेत बढ्ने स्थानीयको भनाइ छ ।

यो भन्दा पहिला उक्त मन्दिरमा भण्डारी परिवारबाट नै चढाएको १२ किलोको दमाहा मात्रै रहेको थियो । उक्त ऐतिहांसिक तथा सबैभन्दा ठूलो दमाहा यस क्षेत्रका मानिसहरूले अजयमेरु १ को पुइलेक बजारबाट बोकेर बाजागाजासहित मन्दिर पुर्‍याएका थिए ।

सुदुरपश्चिममै पहिलो पटक ठूलो दमाहा चढाइएको पुजारी पण्डित देवराज भट्टले बताए । दमाहाको उचाई ४ फिट ५ इन्च र चौडाई ४ फिट ६ इन्च छ । कोला समैजी मन्दिरको जीर्णोदारको काम पनि जारी छ । स्थानीय स्तरबाट भेटी, चंदा संकलनगरि मन्दिर परिसरमा ढुगां छाप्ने तथा मन्दिरको छानोसमेत मर्मत गरिने भएको छ।

मन्दिरमा श्रीपञ्चमी, चैते दसैं, नवरात्रीमा पूजाआजा गरिन्छ । कार्तिक शुक्ल दशमीका दिन मन्दिरमा विशेष पूजाआजा गरी धार्मिक परम्परा अनुसार देवपुजन कार्य हुँदै आएको पुजारी भट्टले बताए । यस मन्दिरमा पूजाआजा गर्नाले मनले चिताएको सबै पूरा हुने गरेको उनको भनाइ छ।