महिला प्रहरीका लागि बस्ने ब्यारेक नहुँदा समस्या

Image

बैतडी । जनधनको सुरक्षा गर्ने जिम्मेवारीमा खटिएका महिला प्रहरी बस्ने ब्यारेक नहुँदा डेरामा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । बैतडी जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटमा कतै पनि महिला प्रहरी बस्ने ब्यारेक छैन । यस्तो अवस्थामा आफ्नो पैसा खर्च गरेर डेरा बस्नु परेको महिला प्रहरीले गुनासो गरे ।

जिल्ला प्रहरी कार्यालयमातहत ३१ जना महिला प्रहरी कार्यरत छन् । प्रहरी कार्यालयनजिकै डेरा नपाउँदा महिला प्रहरीले थप झन्झट बेहोर्दै आइरहेका छन । डेरामा बसेर तोकिएको समयमा ड्युटी गर्न समस्या भइरहेको उनीहरूको पीडा छ ।

डेरामा बसेपछि पानी भर्नेदेखि लिएर बिजुली, फोहोरको समेत पैसा तिर्नु पर्नेदेखि लिएर अनेक समस्याका कारण तोकिएको समयमा ड्युटी गर्न समस्या भइरहेको छ ।

महिनावारी हुँदा समाजले गर्ने व्यवहारका कारणले कतिपय ठाउँमा कोठा खाली नभएको जवाफसमेत आउने गरेको उनीहरूको गुनासो छ । जिल्ला प्रहरी कार्यालयभित्र महिला प्रहरीका लागि बस्ने ठाउँ नभएकाले समस्या भइरहेको कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्रप्रसाद मिश्रले बताए ।

उनले भने, “महिला प्रहरीका लागि बस्ने ब्यारेक छैन । ठाउँ नभएर पुरुष प्रहरीकै बिजोग छ । पुरुषसँगै साँघुरो ठाउँमा महिला प्रहरीलाई राख्ने कुरा भएन । बस्ने ठाउँ नहुँदा प्रहरी निरीक्षक साप नै डेरा खोजेर बस्नुभएको छ ।”

जिल्ला प्रहरी कार्यालयसहित ३४ वटा प्रहरी युनियटमा ४८२ जनाको दरबन्दी रहेको छ । ३४ वटा प्रहरी युनिटमध्ये २२ वटा प्रहरी चौकीको आफ्नै भवन नहुँदा भाडाको जीर्ण घरमा चौकी राखेर बसिरहेका छन् । यस्तो अवस्थामा महिला प्रहरीको व्यक्तिगत गोपनीयताका कारण पनि डेरा खोजेर बस्नुपर्ने बाध्यता रहेको पाइएको छ । नियमले डेरा भाडा नपाइने भएकाले आफ्नै तलबबाट डेरा खोजेर बस्नुपर्ने महिला प्रहरीको बाध्यता छ ।