पदम जोरा, डडेल्धुरा । परशुराम नगरपालिले परशुरामधाम क्षेत्र संरक्षण र विकास कार्य समिति गठन गरेको छ । परशुराम नगरपालिकाको परशुराम क्षेत्र संरक्षण र विकास सम्बन्धि ऐन २०८१ बमोजिम बिहिवार बसेको नगर कार्यपालिका बैठकले मीन बहादुर चन्दको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको मिति २०८१ असारमा सम्पन्न १५ औं नगरसभाले परशुराम धामको प्रचार, प्रसार, संरक्षण, सम्बर्धनका लागि सर्वसम्मतबाट ऐन पारित गरेको थियो ।
स्थानीय सरकारको मातहतमा रहने गरि ऐनमा भएको व्यवस्था अनुसार समिति गठन गरिएको नगर प्रमुख भरत बडायर जोशीले बताए । परशुराम क्षेत्र संरक्षण र विकास सम्बन्धि ऐन २०८१ अनुसार समितिको उपाध्यक्षमा वडा नं. ४ का गोपालदत्त जोशी, वडा नं. ५ का वडा अध्यक्ष दिल बहादुर शाहि (पदेन सदस्य), वडा नं. ६ का धन बहादुर धामी, वडा नं. ४ का तिर्थराज अवस्थी र वडा नं. १२ का प्रकाश चटौतलाई चयन गरिएको छ । यस्तै सदस्य सचिवमा वडा नं. ५ का वडा सचिवलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रशिद्ध धार्मिक तथा पर्यटकिय तिर्थको परशुरामधामको सम्पुर्ण स्वामित्व स्थानीय सरकार परशुराम नगरपालिकामा रहने जारी ऐन मा व्यवस्था छ ।
जिल्ला प्रशासन कार्यालयसहितका निकायमा दर्ता भइ क्रियाशिल परशुराम क्षेत्र विकास समितिको क्षेत्राधिकार भने एक गैर सरकारी कार्यालय सरह रहने भएको छ । नव गठित समितिको काम कर्तव्य र अधिकार पनि ऐनको व्यवस्था अनुसार हुने छ ।
उक्त ऐन राजपत्रमा प्रकाशित भईसकेको छ । नेपालको संविधान २०७२ को अनुसुचि ०८ धाराको ५७, उपधारा (४), धारा २१४ को उपधारा (२) धारा २२१ को उपधारा (२) धारा २२६ को उपधारा (१) संग सम्बधित स्थानीय तहको अधिकार सुचिको क्र.स.२२ मा उल्लेखित भाषा, संस्कृति र ललितकलाको संरक्षणको अधिकार क्षेत्रभित्र रहि धार्मिक, पर्यटकिय क्षेत्रको संरक्षण, सम्बर्द्धन, भौतिक पुर्वाधार निर्माण गरी सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ऐनको व्यवस्था अनुसार ७ सदस्यीय समिति गठन गरेको हो ।
भगवान बिष्णुको छैटौं अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, साँस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा यस अघि नगरपालिकाले गुरु योजना बनाई विभिन्न भौतिक पूर्वाधारसंगै बाँध निर्माण गरेको थियो ।
यहाँ भगवान परशुरामको सबैभन्दा अग्लो ५४ फिटको मूर्तीसमेत निर्माण गरिएको छ । यस तीर्थको गरिमा राष्ट्रिय र अन्तर्राष्टिय रुपमा प्रचार प्रसार गरी नगरपालिकाको सांस्कृतिक पर्यटकीय विकासकालागि पहल गरिने नवनियुक्त अध्यक्ष मीन वहादुर चन्दले बताए । परशुराम तीर्थमा यहि पौष २९ गते राति रतेणि परशुराम (फरनाम) मेला र माघ १ गते बिहान माघे सक्रन्ती (मकर मेला) लाग्ने गरेको छ ।












