काठमाडौँ । विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ । सन् २०२३ मा देखिएको विश्वव्यापी उच्च तापक्रमको रेकर्ड मात्र होइन, औद्योगिक युगको उच्च तापक्रमको रेकर्ड सन् २०२४ को तापक्रमले तोडेको छ ।
विगत ८५ वर्षको अन्तरालमा वृद्धि भएका औसत तापक्रमहरूको पनि रेकर्ड तोड्दै सन् २०२४ मा औसत तापक्रम १५.१० डिग्री सेल्सियस कायम भएको हो । मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले यो लक्षण विश्वकै लागि गतिलो नरहेको औँल्याए । उनका अनुसार यसले अबका दिनमा जलवायु परिवर्तनको प्रभाव उच्चस्तरमा देखिने दर्शाउँछ । उनले भने, “विकसित मुलुकको व्यवहार हेर्दा कार्बन उत्सर्जन घटाउने कार्यक्रम छैन, बरु झन् बढाउनेतिर गइरहेका छन् ।”
तापक्रम वृद्धिको प्रवृत्ति डरलाग्दो देखिएसँगै विश्वव्यापी प्रयास भने कमजोर देखिएको श्रेष्ठले बताए । तापक्रम वृद्धिले ल्याउने जलवायु परिवर्तनको नोक्सानीको क्षतिपूर्ति दिनुभन्दा पहिल्यै रोकथाम गर्नु राम्रो भन्ने कुरा विकसित मुलुकले नकारेको देखिएको उनले आरोप छ । यो विश्वमा औद्योगिकीकरणको सुरुवातताकाको तापक्रमभन्दा उच्च हो ।
युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिससहित छ वटा संस्थाले सामूहिक रूपमा गरेको अध्ययन प्रतिवेदन अनुसार औद्योगिकीकरणका क्रममा सन् १८५०–१९०० सम्मको पाँच दशकमा देखिएको उच्च तापक्रमभन्दा बढी हो ।
औद्योगिकीकरणको समयमा वार्षिक विश्वव्यापी औसत तापक्रमको वृद्धि १.५ डिग्री सेल्सियसलाई आधार मानेर त्यसमै सीमित गर्न सन् २०१५ मा पेरिस सम्झौता भएको थियो । त्यस्तै सन् १९९१ देखि सन् २०२० को दशकमा देखिएको औसत तापक्रमभन्दा ०.७२ डिग्री सेल्सियसले बढी हो ।
जलवायुविज्ञ मञ्जित ढकालले जुन हिसाबले तापमान बढ्छ भनिएको थियो, त्यही हिसाबले बढ्दै गएको औँल्याउनुभयो । त्यही प्रकारले अब जलवायुजन्य प्रकोपहरूको जोखिम उच्च हुने देखिएको उनले प्रस्ट्याए ।












