भित्रिमधेशका आलु उत्पादक किसानलाई बजारको समस्या

Image

डडेल्धुरा । भित्री मधेश क्षेत्र आलिताल र परशुरामका किसानहरू पछिल्ला वर्षहरूमा आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएका छन् । दुर्गम वस्ति र बजार नजिक नहुदा आलु उत्पादक किसानलाई बजारको भने समस्या छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई (आलु सुपरजोन), कृषि ज्ञान केन्द्रलगायतका कार्यालयहरूबाट प्राबिधिक र आर्थिक सहयोग पाएपछि किसानहरूको जीवनस्तरमा उल्लेख्य सुधार भएको छ । तर, उत्पादन बढे पनि किसानहरुले भण्डारण र ढुवानीमा समस्या भोग्नु परेको छ ।

आलिताल गाउँपालिका–८ मा रहेको रंगुन ताजा तरकारी उत्पादन समूहका अध्यक्ष लालबहादुर डालामगरका अनुसार यहाँको माटो र वातावरण आलु खेतीका लागि विशेष रूपमा उपयुक्त छ । ‘

पहिले गहुँ खेती गरिन्थ्यो, तर आम्दानी कम थियो,’ उनले भने । ‘अब आलु खेतीले हाम्रो जीवन फेरिएको छ । बजारको राम्रो व्यवस्थापन भयो भने वार्षिक आम्दानी बढ्ने सम्भावना छ । बर्खे तरकारी खेती पनि सम्भव भएकाले आम्दानीको स्रोतमा बृद्धी भएको छ ।’ डालामगरका अनुसार समूहका ४० जना किसानले करिब एक सय रोपनी जमिनमा आलु खेती गरेका छन् ।

परशुराम नगरपालिका १२, खजुरानीमा रहेको सिद्धनाथ बहुउद्देश्यीय कृषक समूहका अध्यक्ष मानबहादुर भण्डारीले भने, ‘हामी २१ जना किसानले आलुको बीउ उत्पादन गरेर राम्रो आम्दानी गरिरहेका छौं । ७० रोपनीमा आलु खेती बिस्तार गरिएको छ । गत वर्ष दुई लाख रुपैयाँ आम्दानी भयो । यस वर्ष बीउ उत्पादनलाई अझै बढाउने योजना छ ।’

१० रोपनीमा आलु खेती गर्दै आउका परशुराम नगरपालिका १२, खजुरानीका किसान, मनिष बोहराले सामान्य तरकारी खेतीबाट अहिले व्यवसायीक रुपमा आलु खेतीमा लागेका छन । उनी बिशेष गरेर आलुको बीउ उत्पादनमा गर्दै आईरहेको छन । तर, आलुमा डडुवा रोग लाग्ने समस्या उनले झेल्दै आएका छन । स्थानिय सरकारले बिगतमा ढुवानीमा अनुदान दिने गरेको भएपनि पछिल्लो समय खासै सहयोग नपाएको उनको गुनासो छ ।

परशुराम नगरपालिका–७ घुम्टेगडाका किसान अर्जुन धामीले ढुवानीको समस्याले आफ्नो व्यवसायमा निकै कठिनाइ भएको बताए । ‘यहाँ बजार छैन, हामीले उत्पादन गरेको आलु कञ्चनपुरको महेन्द्रनगर बजारसम्म पु¥याउनुपर्छ, तर ढुवानी खर्च निकै महँगो छ । वडा र नगरपालिकाले यो समस्या समाधान गर्न सके हाम्रो उत्पादन अझै राम्रो हुने थियो ।’ उनले भने ।

घुम्टेगडाकै मान बहादुर धामी २ वर्ष यता व्यवसायिक रुपमा आलुखेतीमा लागेका छन । तर, उनले सिचाँइको अभाव र आलुमा लाग्ने रोगका कारण समस्या भोग्नु परेको छ । घुम्टेगडाकै अर्का किसान माया धामीले तीन वर्षदेखि आलु खेती गर्दै आईरकेकी छन । ‘आम्दानी राम्रो छ, तर बजार टाढा भएकाले उत्पादनको उचित मूल्य पाउन सकिएको छैन।’ उनले भनिन्, ‘डडेल्धुराको अमरगढीमा रहेको शीत भण्डारसम्म पु¥याउन पनि ढुवानी खर्च धेरै पर्छ ।’

परशुराम नगरपालिका ५ परिगाँउमा लटिनाथ कृषि तथा पशुपंक्षी कृषक समूह बनाएर किसान आलुखेतीमा लागेका छन । समूहका अध्यक्ष सुरेन्द्र बहादुर बोहराले आलुखेती गर्दै आइरहेका किसानले बजारको समस्या भएकाले स्थानिय तहले पहल गरिदिन आग्रह गरे । उनले २५ कुन्टल आलुको बिउ आलुसुपरजोनले सहयोगमा लगाएको बताए ।

२० जनाको समूहमा अहिले ३५ रोपनिमा आलुखेती गरिरहेको उनले बताए । स्थानीय तहले किसानका लागि भरपर्दो बजार व्यवस्थापन गर्न सक्नुपर्ने उनको भनाई छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई डडेल्धुराका प्रमुख भिष्मराज रेग्मीका अनुसार किसानहरु पछिल्लो समय आलुको बीउ उत्पादनमा आकर्षित भएका छन । आफुहरुले पनि आलुबालीको क्षेत्र बिस्तार गर्न लागेको उनले बताए ।

यहाँका किसानलाई आलु खेतीमा आत्मनिर्भर बनाउने योजना रहेको बताउदै उनले आलुमा केही रोग लागेमा आफुहरुले प्राबिधिक सहयोग गर्ने गरेको र स्थानिय पालिकाको कृषि शाखामासमेत समन्वय गर्ने गरेको बताए । उनका अनुसार डडेल्धुराका किसानले उत्पादन गरेको आलुको बिउ सुदूरपश्चिमका सबै जिल्लासम्म पुग्ने गरेको छ ।

परशुराम नगरपालिका ७ का वडा अध्यक्ष कर्ण बहादुर धामीका अनुसार कृषि ज्ञान केन्द्र, आलुसुपरजोन र नगरपालिकाको कृषि शाखाको सहयोगले यहाँका किसान व्यावसायिक बनेका छन् । किसानको आयस्तरमा बृद्धीगर्न र परम्परागत तरिकाबाट व्यावसायिक बनाउन वडा कार्यालयबाट सहयोग रहने उनले बताए ।