डडेल्धुरा । जिल्ला सदरमुकामको तुफानडाडामा चारदिने पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । आफ्नो एफएम डडेल्धुराको आयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले सोसल मिडियाले गर्दा पत्रकारिता क्षेत्रलाई चुनौती थपेको बताए । उद्घाटन शत्रका प्रमुख अतिथीसमेत रहेका भण्डारीले नागरिकले विश्वसनीय पत्रकारको अपेक्षा गरेको बताए ।
पत्रकारहरूले सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने र त्यसले मात्रै पत्रकारिताको विश्वसनीयता बढ्ने उनको भनाई छ । पत्रकारहरूलाई आवाज विहीनहरूको आवाज बन्न पनि उनले आग्रह गरे ।
तालिमकी मुख्य प्रशिक्षक विनु राईले रेडियोले समाज रूपान्तरमा महत्त्वपूर्ण भूमिका रहेको बताइन् । अमरगढी नगरपालिका–७ का वडाध्यक्ष खडकसिंह बोहराले पत्रकारिता समाजको ऐना भएको बताए । मिडियाले लेखेका र बोलेका समाचार समाजले सत्य ठान्ने भएकाले पत्रकारहरूले सत्य सूचना मात्र प्रवाह गर्नुपर्नेमा उनको जोड थियो ।
माघ ३ गतेसम्म सञ्चालन हुने तालिममा १४ जनाको सहभागिता रहेको आफ्नो एफएम डडेल्धुराका स्टेशन म्यानेजर सागर ताम्राकारले जानकारी दिए ।












