डडेल्धुरा । यस वर्षको हिउदमा पहिलो ठूलो वर्षा भएको छ । हिउद सुरु भएपछि वर्षा नै नभएको डडेल्धुरामा पर्याप्त वर्षा हुदा चिसो ह्वात्तै बढेको छ । बिहिवार बिहानै देखि भएको वर्षाले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । तर खेतीपाती गर्ने किसानलाई भने निकै ठूलो राहात भएको छ ।
जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्याम सुनारका अनुसार बिहिवार बिहान देखि दिउसो २ः४५ बजेको समयसम्म ८ दशमलब ७ मिलिमिटर वर्षा भएको छ । बिहिवार बिहान करिब ७ः०० बजे देखि भएको सामान्य वर्षा दिउसोपछि मध्यम वर्षा भएको थियो । यो वर्षा यस वर्षको हिउदेयाममा हाल सम्मकै उच्च रेकर्ड भएको छ ।
उनका अनुसार बिहिवार डडेल्धुराको अधिकतम तापक्रम ७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेने अनुमान छ । यस हिउदको यो समयमा भएको पर्याप्त वर्षाले व्यावसायीक रुपमा फलफूल खेती गरिरहेका किसानलाई ठूलो राहात भएको छ ।
डडेल्धुरामा बर्खे र हिउदे गरि एक हजार तीन सय ७१ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिदै आएको छ । प्रतिहेक्टर उत्पादकत्व १३.४ प्रतिशत रहेको छ । वर्षभरीमा १८ हजार ४६१ किलोग्राम तरकारी उत्पादन हुने गरेको तथ्यांक कृषि ज्ञान केन्द्रको रहेको कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए ।
उनका अनुसार डडेल्धुरामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा गहु खेती र चार सय ३५ हेक्टर क्षेत्रफलमा मसूरो खेती गरिने गरिन्छ । अहिले भएको वर्षा गहुका लागी पर्याप्त भएको उनले बताए ।
यसैगरी डडेल्धुरामा यस वर्ष देखि १२ सय हेक्टर बढी जमिनमा आलु खेती गरिदै आएको छ । गत वर्षको तथ्यांक अनुसार डडेल्धुरामा करिव २५ हजार सात सय मेट्रिक टन आलु उत्पादन भएको थियो ।












