डडेल्धुरा । बिहिबार यस वर्षको हिउदमा पहिलो ठूलो वर्षा भएको छ । हिउद सुरु भएपछि वर्षा नै नभएको डडेल्धुरामा पर्याप्त वर्षा हुदा चिसो ह्वात्तै बढेको छ । बिहिवार बिहानै देखि भएको वर्षाले चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । तर खेतीपाती गर्ने किसानलाई भने निकै ठूलो राहात भएको छ ।
जल तथा मौसम विज्ञान विभाग हावापानी फिल्ड कार्यालय डडेल्धुराका कार्यालय प्रमुख श्याम सुनारका अनुसार बिहिवार बिहान देखि बेलुकीसम्म ८.७ मिलिमिटर वर्षा भएको छ । यो वर्षा यस वर्षको हिउदेयाममा हाल सम्मकै उच्च रेकर्ड रहेको उनले बताए ।
यस हिउदको यो समयमा भएको पर्याप्त वर्षाले व्यावसायीक रुपमा फलफूल खेती गरिरहेका किसानलाई ठूलो राहात भएको अमरगढी नगरपालिका ३ चिरकिट्टे गाउँका किसान प्रजापती पनेरुले बताए । महाभारत पर्वत क्षेत्रमा एक हजार बढी किभिका विरुवा रोपेर व्यावसायीक फलफूल खेती गर्र्दै आईरहेका पनेरुले यस अघि मंसिर र पुस महिनामा हल्का वर्षा र हिमपात हुदा पनि बोटविरुवा र बालीनालीलाई राहात पुगेको उनले बताए । बिहिवार पर्याप्त वर्षा हुदा फागुन, चैत महिनामा पर्ने खेडेरीलाई समेत राहात पुग्ने उनको भनाई छ ।
अजयमेरु गाउँपालिका २ बडी गाउँमा आठ हजारबढी अनारका विरुवा रोपेर व्यवासायीक फलफूलखेती तर्फ आकर्षित भएका मदन पनेरुले बर्षा हुदा खुसी लागेको बताए । पर्याप्त सिचाईको व्यवस्था नहुनु र यस वर्ष हालसम्म ठूलो वर्षा नहुदा पानीका मुहान सुक्दै गर्दा भएको वर्षाले बोटविरुवासंगै परम्परागत गहु, मसुरो, केराउ, मटर खेतीलाई निकै राहात भएको उनको भनाई छ ।
डडेल्धुरामा वर्खे र हिउदे गरि एक हजार तीन सय ७१ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिदै आएको छ । प्रतिहेक्टर उत्पादकत्व १३.४ प्रतिशत रहेको छ । वर्षभरीमा १८ हजार ४६१ किलोग्राम तरकारी उत्पादन हुने गरेको तथ्यांक कृषि ज्ञान केन्द्रको रहेको कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताए ।
उनका अनुसार डडेल्धुरामा सात हजार ५०० हेक्टर क्षेत्रफलमा गहु खेती र चार सय ३५ हेक्टर क्षेत्रफलमा मसूरो खेती गरिने गरिन्छ । अहिले भएको वर्षा गहुका लागी पर्याप्त भएको उनले बताए । तर टिप्न लागेका तरकारी खेती र खनिन लागेको आलुमा भने केही असर पुग्ने उनको भनाई छ ।
यसैगरी डडेल्धुरामा १२ सय हेक्टर बढी जमिनमा आलु खेती गरिदै आएको छ । गत वर्षको तथ्यांक अनुसार डडेल्धुरामा करिव २५ हजार सात सय मेट्रिक टन आलु उत्पादन भएको थियो ।












