गैरा–गाँखेत सडक स्तरोन्नतिको काम अलपत्र, चाँडो काम नगरिए भिमदत्त राजमार्ग अवरुद्ध गर्ने चेतावनी

Image

डडेल्धुरा । डोटीको गैरा बजार देखी डडेल्धुराको गांखेतका वस्ति जोड्ने ग्रामिण सडक स्तरउन्नतीको काम दुई वर्षदेखी अलपत्र परेको छ । चाँडै काम सुरु नगरिए भिमदत्त राजमार्ग अवरुद्ध गर्ने चेतावनी गांखेतवासीको छ ।

उक्त सडक स्तरउन्नतीका लागि २०७८ माघ महिनामा ठेक्का सम्झौता गरिएपनि समयमा काम गरिएको छैन । सडक स्तरउन्नतीको काम अलपत्र छोडिएपछी गांखेतका दर्जनौ वस्तिका हजारौ स्थानीयहरु लाई आवत जावतमा निकै जोखिम मोल्नु पर्ने बाध्यता छ ।

अत्तरिया–डडेल्धुरा जोड्ने भिमदत्त राजमार्गको डोटी जिल्लामा पर्ने जोरायल गाउँपालिका १ को गैरा बजारबाट डडेल्धुराको आलिताल गाउँपालिका १ र २ नं. वडाका दर्जनौ वस्ति तत्कालिन गांखेत गाविस जोड्ने सडक स्तरउन्नतीको काम पलपत्र छोडिएको छ ।

गांखेतबाट आलिताल गाउँपालिका मुकामसमेत जोड्ने मुख्य सडकको मध्य भागको सडकखण्ड स्तरउन्नती हुन नसक्दा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । कृषि उत्पादन र पशु जन्य उत्पादनका लागि अग्रणी क्षेत्र गांखेतमा उत्पादित कृषि र पशुजन्य उपजले बजारसमेत पाउन सकेको छैन ।

ठेक्का सम्झौता भएर पनि समयमा काम सम्पन्न नगरिएपछी गांखेतवासी निकै आक्रोशित बनेका छन । सडक डिभिजन कार्यालय कुलपाते डोटिले निर्माण कम्पनी जेडीएमआर बिल्डर्स काठमाडौंसँग सडक स्तरउन्नतीका लागि करिब दुई करोड बराबरको ठेक्का सम्झौता गरेको थियो ।

२०७९ साल जेठ ३० गतेभित्र काम सम्पन्न गरिसक्ने गरि २०७८ माघ महिनाको २६ गते ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालयका कार्यालय प्रमुख रमेश भट्टराईले जानकारी दिए । तर ठेक्का सम्झौता अनुसारको समय भन्दा दुई वर्ष बढी बितिसक्दासमेत काम नगरिए पछि स्थानीय आक्रोशित भएका हुन ।

मध्यपहाडी क्षेत्रको गैरा–गाँखेत सडकको भौगोलिक अवस्था जाँदा ओरालो र आउदा उकालो भिरको साँघुरो सडकमा यात्रा गर्दा निकै जोखिमपुर्ण हुन्छ । सडकको स्तरोन्नति नहुँदा स्थानीयहरु जोखिमपूर्ण यात्रागर्न बाध्य छन ।

वडा नं. १ र २ कासंग जोड्ने अन्य वैकल्पिक सडक पनि छैनन् । वडा नं. २ का वडा अध्यक्ष प्रमोद मल्लले भने, गांखेतका वस्तिहरु तराई पहाड जोड्ने मुख्य राजमार्ग भीमदत्त राजमार्गबाट धेरै टाढा टाढा रहेका छन । ठेक्का भएर पनि काम सम्पन्न नुहुदा गांखेतवासीहरुको दैनिकीमा ठूलो बाधा अवरोध पुगेको छ । यस काराण् स्थानीयहरु आक्रोशित भएका छन ।

वडा अध्यक्ष मल्लका अनुसार माघ ४ गते वडापालिकाको बैठक बोलाइ अबको एक महिनाभित्र निर्माण कार्य अगाडी नबढाइए वडा नं १ र २ का जनतासहित आन्दोलनका लागि भिमदत्त राजमार्गको गैरा बजारमा सडक अबरुद्ध गर्न बाध्य हुने चेतावनीसहितको निर्णय गरिएको छ ।

निर्माण कम्पनिका संचालनक रवि कुमार सिंहसँग यस बिषयमा बुझ्दा ठेक्का सम्झौता अनुसारको काम करिब ११ किलोमीटरको रहेको बताए । हाल सम्म सडक स्तरोन्नतिको काम ५ किलोमिटर सम्पन्न भैसकेको उनले बतए । सडक डिभिजन कार्यालयले काम गरे वाफतको रकम भुक्तानी नदिएकाले बाँकी काम सम्पन्न गर्न नसकिएको उनको भनाई छ । यस वर्ष बजेट विनियोजन भएकाले छिट्टै काम सुरु गरि सम्पन्न गरिने उनले बताए ।