धान उत्पादनमा कमी, डडेल्धुरामा वर्षेनी २८१ मेट्रिकटन खाद्यान्न अपुग

Image

डडेल्धुरा । यस वर्ष धान उत्पादनमा कमि आएको छ । धानलगायत खाद्यान्नमा परनिर्भर रहेको डडेल्धुरामा धान खेती गर्ने जमिनको क्षेत्रफलमा कमि आएसंगै उत्पादनमा पनि कमि आएको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्यांक अनुसार यस वर्ष डडेल्धुरामा १८ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको छ ।

यो गत वर्षको भन्दा झण्डै दुई हजार मेट्रिक टनले कम हो । चालुआर्थिक वर्ष २०८१/०८२ मा ६ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा कुल ६ हजार १८८ हेक्टर क्षेत्रफलमा धान खेती गरिदा उत्पादन २० हजार ४२० मेट्रिक टन धान उत्पादन भएको थियो ।

डडेल्धुरामा धान उत्पादकत्व प्रति हेक्टर ३ मेट्रिक टन रहेको छ । यो पनि गत वर्ष भन्दा ०.३ ले कमी आएको देखिएको छ । गत वर्ष धान उत्पादकत्व प्रति हेक्टर ३.३ मेट्रिक टन थियो । कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरुका अनुसार यस वर्ष कोदो खेतीसंगै आलुुलगायतका तरकारी खेती विस्तार भएका कारण धान खेती गर्ने क्षेत्रफल घटेको हो । क्षेत्रफल घेटसंगै उत्पादनमा कमी आएको उहाँको भनाई छ ।

यस वर्ष मकै र कोदो उत्पादनमा केही बृद्धि भएको छ । मकै र कोदो खेती गरिने क्षेत्रफल घटे पनि उत्पादनमा थोरै बृद्धि भएको तथ्यांक कृषि ज्ञान केन्द्र संग छ । यस वर्ष ३ हजार ८०० हेक्टर क्षेत्रफलमा मकै खेती गरिदा १० हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष भने ३ हजार ८२० हेक्टर क्षेत्रफलमा मकै खेती गरिदा उत्पादन ५६७ मेट्रिक टन उत्पादन भएको थियो ।

यस्तै कोदो उत्पादन यस वर्ष ५६८ मेट्रिक टन भएको छ । जम्मा ३२० हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको थियो । गत वर्ष ३३४ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिदा ५६७ मेट्रिक टन उत्पादन भएको थियो । डडेल्धुरामा हिउदे बाली अन्तरगत धान, मकै, कोदो मुख्य अन्नबालीका रुपमा खेती पाती गरिन्छ ।

यससंगै मुख्य दलहन बालीमा मास, भटमास, गहत खेती गरिन्छ । कृषि ज्ञान केन्द्रका प्रमुख पेनरुका अनुसार यस वर्ष दलहन बालीको कुल उत्पादन २ हजार ७१७ मेट्रिक टन भएको छ । दलहन बाली अन्तरगत सबैभन्दा बढी भट्मासको उत्पादन २ हजार २५० मेट्रिक टन भएको छ । मास २४५ र गहत १२० मेट्रिक टन उत्पादन भएको उहाँले जानकारी दिए ।

कृषि विकास निर्देशनालयको तथ्यांक अनुरसार डडेल्धुरामा उत्पादनको तुलनामा २८१ मेट्रिकटन खाद्यान्न न्यून रहेको छ । खाद्य सुरक्षाको घटकले धान, गहु, मकै र दाललाई खाद्यान्न मान्छ । त्यस अनुसार प्रति व्यक्ति प्रति वर्ष १९० किलो आवश्यक पर्छ ।

१ लाख ३९ हजार ४२० जनसंख्या रहेको डडेल्धुरामा कृषि पेशामा निर्भर रहेकाहरुको जनसंख्या ६५ प्रतिशत छ । प्रति कृषक खेती योग्य जमिन ०.५ प्रतिशत रहेको छ । डडेल्धुराको जनासंख्याको अनुपातमा वर्षेनी २८१ मेट्रिकटन खाद्यान्न अपुग हुन्छ । यो आयात गर्नु पर्छ ।