रोजगारी खोज्न भारत पसेपछि गाउँको विद्यालय बन्द

Image

बैतडी । गाउँका मानिस बालबच्चा बोकेर रोजगारी खोज्न भारत हिँडेपछि एक विद्यालय पूर्ण रूपमा बन्द भएको छ । पुर्चौडी नगरपालिका–७, ऐराडीगाउँमा २०५० सालमा स्थापना भएको लटिनाथ आधारभूत विद्यालयमा १० वर्षअघिसम्म १५० विद्यार्थी पढ्न आउने गरेकामा केही वर्षयता विद्यार्थी सङ्ख्या घट्दै १०र१५ जनामा झरेपछि विद्यालय बन्द भएको होे ।

ऐराडीगाउँको लटिनाथ आधारभूत विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत थिए । दलित बस्तीका मानिस बालबच्चा साथमा लिएर भारतको बैङ्लोर, पिथौरागढलगायतका सहर पसेपछि विद्यालय नै बन्द भएको छ ।

विद्यालयमा अध्ययन गर्ने बालबालिका नै नभएपछि नगरपालिकाले शैक्षिक सत्र २०८१ देखि विद्यालय बन्द गर्ने निर्णय गरेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्रप्रसाद जोशीले बताए ।

रोजगारी खोज्न भारत पलायन हुने र गाउँबाट बसाइँ सरेर जाने दर बढेपछि पुर्चौडी नगरपालिकाभरि नै विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहेको शिक्षा शाखा प्रमुख जोशीले बताए ।

गाउँबाट महिला र पुरुषको सक्रिय जनशक्ति गाउँबाट पलायन हुँदा बस्तीमा केही बुढापाका मात्रै घर कुरेर बसेको भेटिएका छन् । छोराबुहारीले नातिनातिनासमेत साथमै लगेर भारत हिँडेपछि गाउँ रित्तिन थालेको दलित बस्तीका अगुवा ६२ वर्षीय सोपी लुहारले बताए ।

उनले गाउँमा ज्याला मजदुरीको केही काम नपाउँदा दिक्क भएर छोराबुहारी भारत हिँडेको बताए । विद्यालय जाने केटाकेटी पनि साथमै बोकेर हिँडेपछि घर सुनसान भएको उनले सुनाए ।

दलित बस्तीका अधिकांश बालबालिका आमाबुवासँगै हिँडेपछि विद्यालय बन्द भएको शिक्षक गणेशबहादुर ऐरीले बताए । दलित बस्तीमा रहेको लटिनाथ आधारभूत विद्यालयमा २० वर्षसम्म शिक्षण गरेका शिक्षक ऐरीले ३१ वर्षपछि विद्यालय बन्द हुँदा नरमाइलो लागेको बताए ।

विद्यालयका आठ कोठाका तीन वटा भवन छन् । उनले भने, शौचालय खानेपानी, दिवा खाजा पकाउने घर सबै सुनसान बनेका छन् । राज्यको लगानी खेर जाने भयो । रोजगारी खोज्न गएका अभिभावक एक दिन त स्वदेश फर्किनु पर्ला तर बालबालिकाको भविष्य बर्बाद बन्ने भयो ।”

ऐराडीगाउँमा रहेका आधारभूत विद्यालय बन्द भएपछि शिक्षक अर्को गाउँमा रहेको दशरथ आधारभूत विद्यालयमा सरुवा भएका छन् । ऐराडीका केही बालबालिका सोही वडाको बड्गाउँस्थित गलिनाथ माविमा पढ्न आउने गरेको प्रधानाध्यापक दिनेश नागरीले बताए ।