डडेल्धुरा । भित्रिमधेशको जोगबुडा क्षेत्र परशुराम नगरपालिका १२ मा रहेको जोगबुडा अस्पतालले आफ्नो नयाँ भवनबाट उपचार सेवा सुरु गरेको छ । अस्पताल व्यवस्थापन समिति अध्यक्षसमेत रहेका परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले अस्पतालको नयाँ भवनको शुक्रवार विधिवत रुपमा उद्घाटन गरि सेवा सुचारू गरे ।
धार्मिक विधिवत रुपमा अस्पताल भवनको उद्घाटन गरेपछि अस्पतालको सेवा नयाँ भवनबाट सुचारु गरिएको उनले बताए । अब चाँडै अस्पतालमा थप उपकरण सेवासहित व्यवस्थापकिय पक्ष सुधारका लागि पहल गरिने मेयर जोशीले बताए । अस्पतालको स्तरोन्नतीको लागि संघ र प्रदेश सरकार समक्ष पटक-पटक पहल गरिरहेको उनले जानकारी दिए ।
स्वास्थ्य सेवाबाट भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका र आलिताल गाउँपालिकावासीहरुले बाह्यि मुलुक एवं कैलाली, काठमाडौं, नेपालगन्ज धाउनु पर्ने बाध्यताको अन्त्य गर्न जोगबुडा अस्पतालको सेवा प्रभावकारी बनाउन लागी परेको उनले बताए ।
हरेक आर्थिक वर्षमा नगरपालिकाले नागरिकको समस्यालाई मध्यनजर गरि निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरसमेत आयोजना गर्दै आएको उनले बताए । बिशेषज्ञ, एमडि डाक्टर उपलब्ध छन । तर डाक्टरलाई अस्पतालमै लामो समय बस्ने वातावरण मिलाउनु पर्ने उनको भनाई छ ।











