डडेल्धुरा । भागेश्वरमा सुन्तला जातका फलफूल उत्पादन गर्ने किसानलाई आवश्यक तालिमसंगै औजारहरु वितरण गरिएको छ । भागेश्वर गाउँपालिका वडा नं. ५ चुल्ल र शिराड गाउँका किसानलाई बगैचा व्यवस्थापन, सुदृढीकरण तालिमसंगै केही थान अति आवश्यक औजारहरु वितरण गरिएको हो ।
शनिवार कृषि ज्ञान केन्द्र डडेल्धुराको प्राबिधिकसहितको टोली किसानको बारीमा नै पुगेर बगैचा व्यवस्थापन, सुदृढीकरण तालिमसंगै सात वटा वस्तिका किसानलाई आरी, सिग्नेचर,प्याडल स्प्रे, बोर्डरपेष्ट र भिटामिन वितरण गरेको हो ।

चुल्ल र शिराड गाउँका किसानहरुले सुन्तला, मौसमीलगायतका सुन्तला जातका फलफूलहरुको ठूलो मात्रामा बगैचा खेती गर्दै आईरहेका छन । यस अघि सुन्तला ब्लकको योजना अन्तरगत यस क्षेत्रमा करिब १५ हजार बढी सुन्तला जातका विरुवा रोपिएका थिए । किसानको माग अनुसार कृषि प्राबिधिकको टोली नै बगैचामा पुगेर आवश्यक जानकारी र औजारहरु वितरण गरिएको कृषि प्राबिधिक अधिकृत मदन जोशीले बताए ।
उनका अनुसार किसानले ठूला बगैचा बनाएका छन । तर तीन मिटर नजिकै विरुवा रोप्ने, गह्राको बिच भागमा नरोपेर भिरको किनारमा रोप्ने, हागाँ काटछाट नगर्ने, मल घेरा प्रबिधिमा नहाली बोटको फेदमा मात्रै हाल्ने, हागाँ आधाबाट काट्ने गरेका कारण राम्रो लाभ लिन सकेका छैनन् । यस विषयमा शनिवार किसानलाई बारिमै जानकारी गराएको उनले बताए ।

चुल्ल र शिराड गाउँका सात वटा वस्तिका किसानहरु लाई दुई, दुई थानका दरले हागाँ कटिंग गर्न आरी र सिग्नेचर, सबैले प्रयोग गर्ने गरि प्याडल स्प्रे एक थान वितरण गरिएको बागबानी अधिकृत राम बोहराले बताए ।
उनका अनुसार सात वटै वस्तिका ४० जना किसानहरु लाई बोर्डरपेष्ट र भिटामिन पनि वितरण गरिएको छ । काटछाट गर्ने तरिका र सुन्तला जातका फलफूलका रुखमा लागेका घाउचोटसंगै फेददेखी करिब चार फिटको उचाईसम्म काण्डमा बोर्डरपेष्ट लगाउन बोर्डरपेष्ट पनि उपलब्ध गराईएको छ । साथै सबै किसानलाई एक प्याकेटका दरले भिटामिन उपलब्ध गराईएको उनले जानकारी दिए ।











