शुक्लाफाँटाका विपन्न परिवारलाई घरको छाना छाउन रकम वितरण

Image

कञ्चनपुर । अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले रकम उपलब्ध गराउन थालेको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो ।

नगरपालिकाका सव इञ्जिनियर धीरज ऐरका अनुसार सुरक्षित आवास अन्तरगत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरबारविहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ता बापतको रकम उपलब्ध गराउने कार्य भइरहेको छ ।

शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि १३६ परिवारलाई दोस्रो किस्ता बापतको २० हजार रकम उपलब्ध गराउन थालेका छौँ, उनले भने, यसअघि पहिलो किस्ता बापत ती परिवारलाई ३० हजारका दरले रकम उपलब्ध गराइएको थियो ।

जसअनुसार वडा नम्बर १ का १९, २ का १०, ३ का पाँच, ४ का ११, ५ का नौ, ७ का २१, ८ का ११, ९ का १९, १० का आठ, ११ का तीन र १२ का छ परिवारले दोस्रो किस्ताको रकम पाउने भएका छन् ।

कार्यक्रम अन्तरगत नगरपालिकामा सुरक्षित आवासका लागि २५६ जना छनोट भएकोमा तीमध्ये २५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेको सव इञ्जिनियर ऐरले बताए । एक सय २१ परिवारले पहिलो र दोस्रो किस्ताबापतको रकम पाएर सुरक्षित आवास निर्माण गरी बस्दै आएका छन् । रासस