डडेल्धुरा । डडेल्धुरा अस्पताललाई जर्मन सरकारको आर्थिक सहयोग अन्तरगत केडब्लुएफको प्राविधिक सहयोगमा निर्माण गरिएको स्टाफ नर्स र चिकित्सक निवास हस्तान्तरण गरिएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेले ती भवन अस्पताल प्रशासनलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा सचिव पोखरेलले डडेल्धुरा अस्पतालमा दरबन्दी रहेका तर अन्यत्र बसेका डाक्टरहरूलाई फिर्ता बोलाइने बताएका छन् । साथै, फिर्ता नभए कारबाही गरिने चेतावनी दिए ।
उनले डडेल्धुरा अस्पतालमा दरबन्दी भएपनि विशेषज्ञ चिकित्सकहरू टिक्न नसक्नुको कारण राजनीतिक दबाबको अभाव रहेकोसमेत बताए । सचिव पोखरेलका अनुसार अन्यत्र राजनीतिक दबाब बढी हुँदा चिकित्सकहरू डडेल्धुरा आउन नमान्ने प्रवृत्ति देखिएको छ ।
उनले अस्पतालको सेवा प्रवाह सुधार गर्न तीन सय बेडको अस्पतालका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी फाइल अर्थ मन्त्रालयमा पठाइएको जानकारी गराए । तर, अर्थ मन्त्रालयले उक्त फाइल रोकिरहेको उनले उल्लेख गरे ।
सचिव पोखरेलले अब डडेल्धुरा अस्पतालले थप डाक्टर पाउनेमा आशावादी रहेको बताए । चिकित्सक र नर्सका लागि नयाँ क्वार्टर बनेपछि यहाँ सेवा गर्न सहज हुने विश्वास व्यक्त गरे । साथै, अस्पतालको विकासका लागि एकताबद्ध भएर लाग्न सबैलाई आग्रह गरे ।
डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सकहरू नहुँदा सेवाहरू प्रभावित भइरहेका छन् । संघीय सरकार मातहत रहे पनि सुरु देखि नै अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या आइरहेको छ । हाल १७ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि अधिकांश पद रिक्त छन् ।
अस्पतालका निमित्त प्रमुख डा. नरेन्द्र कुमार खनालका अनुसार नेपाल सरकारको छात्रवृत्ति तथा करार गरी हाल ११ जना मात्र विशेषज्ञ चिकित्सक छन् । त्यस्तै, १८ जना मेडिकल अफिसरको दरबन्दी भए पनि हाल सात जना मात्र कार्यरत छन् ।
स्टाफ नर्सको दरबन्दी ३२ जना भए पनि पछिल्लो करार प्रक्रिया मार्फत ४४ जना कार्यरत छन् । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको प्रमुख खनालले बताए ।
डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणा कर ओझाले स्वास्थ्य मन्त्रालयलाई पटकपटक स्थायी दरबन्दीमा विशेषज्ञ चिकित्सक पठाउन अनुरोध गरिए पनि हालसम्म समाधान नभएको बताए । उनले अस्पतालका समस्या समाधानका लागि पटकपटक काठमाडौं धाउँदा पनि ठोस नतिजा नआएको गुनासो गरे ।












