आत्मनिर्भर बनाउन महिलालाई सीप सिकाउँदै स्थानीय तह

Image

डडेल्धुरा । यहाँका स्थानीय तहहरुले महिलालाई सीप सिकाउन थालेका छन् । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका वडा नं.–५ ले महिलाहरुलाई ‘ब्यूटिसियन’ तालिम सञ्चालन गरेको छ ।

वडाध्यक्ष टंक क्षेत्रीका अनुसार वडा कार्यालयको समन्वयमा २० जना महिलालाई ब्यूटिसियन तालिम सञ्चालन गरिएको हो । तीन महिने उक्त तालिमले उनीहरुलाई व्यवसाय गर्न सहज हुने विश्वास गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।

त्यसैगरी जिल्लाका सातवटै स्थानीय तहले महिला लक्षित सिलाइ कटाइ, दुना टपरी बनाउने, होजियारी, गुडिया तथा फूल माला उत्पादन गर्ने, अचार बनाउने, धुप बनाउनेजस्ता तालिम सञ्चालन गर्दै आएका छन् । स्थानीय तहसँग घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास केन्द्रलगायतले समन्वय गर्ने गरेका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नरेन्द्र पन्तकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ५४ जना महिलालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको छ । सीप विकास तथा उद्यमशीलतासम्बन्धी तालिम निःशुल्क प्रदान गरिएकाले सीप सिक्नमा महिलाको आकर्षण देखिएको कार्यालय प्रमुख केसवराज भण्डारीले बताए । रासस