डडेल्धुरा । डडेल्धुरामा क्रिकेट खेल जोगाइराख्न विभिन्न प्रतियोगिता आयोजना गरिरहने प्रदिप नगरकोटी उमेरले ४० मात्रै कटेका छन् । सरल स्वभाव, मेहनती र असल व्यवहार भएका युवा नगरकोटी हाल कलेजोमा समस्या देखिएपछि प्रत्यारोपण गर्न खर्च नहुदा अस्पतालमा छटपटाई रहेका छन ।
एक समयका धुरन्दर क्रिकेट खेलाडीसमेत रहेका नगरकोटी अहिले अस्पतालको शैय्यमा छटपटाई रहेका हुन । अमरगढी नगरपालिका–५ घर भएका उनी निम्न वर्गीय परिवारमा जन्मिका थिए । तर, पनि आफ्नो पढाईलाई निरन्तरता दिँदै उनले केही गैरसरकारी कार्यालयमा काम गरे । त्यसपछि जिल्लामै उनले सानो व्यवसाय सुरु गरेका थिए, रेष्टुरेन्टको । तर, त्यहिबेला (२ वर्ष पहिले) उनी एक्कासी बिरामी परे ।
अस्पतालमा चेकजाँच गर्दा उनको कलेजोमा संक्रमण भएको भनियो । जिल्लाका अस्पताल तथा जिल्लाबाहिरका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि उनी निको भएनन् । सोही कारण उनको परिवार विगत केही समयदेखि काठमाडौंमा बस्दै आएको थियो ।
श्रीमानको उपचारकै लागि उनकी पत्नी यशोदा देउवा छोरासहित काठमाडौंमा बसिरहेका थिए । जेनतेज ॠण दान गरेर पतीको उपचार गराइरहेकी यशोदामाथि अहिले भने बज्र परको छ । अहिले चिकित्सकहरुले प्रदिपको कलेजो पूर्णरुपमा खराब भएको भनेपछि यशोदाले पतीलाई काठमाडौंस्थित शिक्षण अस्पतालमा भर्ना गरेकी छिन् ।
ग्याँस्ट्रो वार्डमा भर्ना भएका प्रदिपको कलेजो प्रत्यारोपण गर्न अस्पतालले भनिरहेको छ। तर, ॠणमा डुबिसकेकी यशोदालाई प्रत्यारोपण गर्न लाग्ने करिब ५० लाख कसरी जुटाउने हो भन्दै चिन्ता लागेको छ। उपचारमा धेरै खर्च भइसकेको र कमाउने मान्छे नै बिरामी परेपछि उपचार खर्च जुटाउन निकै अप्ठेरो भएको यशोदाले बताइन्।
उनका अनुसार अहिलेसम्म पतीको उपचारका लागि १५ लाख रुपैयाँ खर्च भइसकेको छ। तर, अब लाग्ने ५० लाख कसरी खोज्ने भनेर पतीसँगै शैय्या छेउमा बसेकी उनी तनावमा देखिन्छिन् ।
‘अस्पतालले तत्काल कलेजो प्रत्यारोपण गर्न भनेको छ। श्रीमानको अहिले पेट पुरै सुन्निएको छ। कलेजो प्रत्यारोपण गर्न करिब ५० लाखसम्म खर्च आउने भनिएको छ। कसरी जुटाउने होला,’ आँखाभरी आँसु बनाउँदै यशोदाले भनिन् ।
उनले आफ्नो श्रीमान् बचाउनका लागि आर्थिक सहयोगको अपिल गरेकी छन । उनले सहयोग गर्न चाहनेलाई माछापुछ्रे बैंकमा रहेको खाता नम्बर १६७०९७६७२२२०००१६ मा रकम जम्मा गरिदिन वा मोबाइल नम्बर ९८६८८५८९१४ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेकी छन। साथै उनले तल दिइएको बैंकको क्यूआर कोड समेत उपलब्ध गराएकी छन ।















