लैंगिक हिंसा तथा एकद्धार संकट व्यवस्थापनमा जिल्लाका सबै निकाय

Image

डडेल्धुरा । लैंगिक हिंसा तथा एकद्धार संकट व्यवस्थापन गर्न यहाँका स्थानीय सरकार, प्रशासन, सरकारी निकाय एवं गैर सरकारी संघ संस्थाहरु प्रतिबद्ध भएका छन । विभेद विरुद्ध सबैले आआफ्नो क्षेत्रमा काम गर्दै आईरहेको भएपनि न्यूनिकरण गर्न नसकिएकाले सबै सरकारी कार्यालय, निकायहरु र गैरसरकारी संघ संस्थाहरु एकबद्ध भए काम गर्ने निर्णय गरिएको छ ।

आईतावार जिल्ला सदरमुकाममा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले आयोजना गरेको लैंगिक हिंसा तथा एकद्धार संकट व्यवस्थापनका क्षेत्रमा कार्यरत निकाय बिचको अन्तरक्रिया कार्यक्रमा सहभागी अमरगढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, गन्यापधुरा गाउँपालिका, एकद्धार संकट व्यवस्थापन केन्द्र, महिला मुक्तिसमाज, सेफ हाउस र गैरसरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले हिंसा विरुद्ध एकबद्ध भएर काम गर्ने गरि निर्णय गरेका हुन ।

रुडुक र अक्सफाम नेपालको संयुक्त साझेदारीमा सञ्चालित ‘नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरूको रूपान्तरणात्मक नेतृत्व’ परियोजना अन्तरगत लैंगिक हिंसा न्यूनीकरणका क्षेत्रमा यस जिल्लामा कार्यरथ सरकारी तथा गैरसरकारी निकायहरुले आगामी दिनमा समन्वयात्मक ढंगबाट कार्य गर्ने, प्रभावित व्यक्तिहरुलाई प्रदान गरी सेवा तथा परामर्शका सम्बन्धमा पनि सहकार्य गरेर अगाडी बढ्ने निर्णय भएको रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अथिति रहेका अमरगढी नगरपालिकाका नगर उपप्रमुख पार्वती झुकालले महिलाहरुले गाउँघरमा काम गर्न छोडेको बताईन । गाउँघरमा बुढा बुवा–आमा, सासु–ससुराहरु मात्रै छन । उनले भनिन्, आजकालका छोरी–बुहारी, छोरा–छोरी पढाउन भनेर बजार मूखी भए । उनका श्रीमानहरु विदेशमा छन । दिनभरी सामाजिक संजालमा व्यस्त रहन्छन । काम गर्न छोडी सके । यसले पुरुष र महिला हिंसा दुबै बढाएको छ । यसका लागि सबै मिलेर महिलाहरुलाई व्यवसायसंग जोड्न आवश्यक छ ।

आफुले गरिरहेका कामको बजारीकरणका लागि सामाजिक संजालको बढीभन्दा बढी प्रयोग गर्नु राम्रो भए पनि कुनै कामै नगरी दिनरात सामाजिक संजालमा अर्धनगन भई भिडियो पोष्ट गर्नु, सक्रिय रहुन नराम्रो भएको उनको भनाई थियो । महिला एवं युवाहरुलाई श्रमसंग जोडि व्यवसायीक बनाउन सबै निकायहरु एकबद्ध हुन आवश्यक रहेको उनले बताईन ।

प्रहरी प्रशासन एवं विभिन्न सामाजसेवीहरुले समाजमा राम्रो काम पनि गरिरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले हिंसा विरुद्ध समुदायमा सचेतनाका कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए । प्रहरीले गरिरहेको सचेतनाका कार्यक्रमहरुसंगै यस क्षेत्रमा काम गर्ने अरु निकाय र गैरसरकारी संघ संस्थाहरुले पनि संगै गर्ने र विभेदमा परेकाहरुको उद्धार गरि व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो ।

एकिकृत विकास समाज (आईडिईएस) का कार्यकारी निर्देशक पदमा गुरुङ्गले समुदायमा मदिरा सेवन गरि पुरुषहरुले महिलामाथि हिंसा गरेको प्रायः मुद्दाहरु हुने भएकाले महिलाहरु लाई सिप सिकाई व्यवसायमा जोडिरहेको बताईन । महिलाहरु लाई व्यवसायी बनाउन सबैले एकबद्ध हुनु पर्ने उनको भनाई थियो ।

बाल बिवाहले महिला एवं लैगिंक हिंसा बढेको देखिएकाले यसको नियन्त्रण र हिंसामा परेकाहरुको उद्धार गरिनु पर्ने एमपिडिएसका कार्यक्रम संयोजक धनबहादुर भण्डारीले बताए । उमेर नपुगी गरिने बिवाह पछि सम्बन्ध विच्छेद हुदा नागरिकता नपाएको, बालबालिकाको जन्म दर्तासमेत नभएको घटना समाजमा देखिएकाले बालबिवाह रोक्न पहल गर्नु पर्ने उनको भनाई थियो ।