डडेल्धुरा । प्रेस सेन्टर नेपालको सुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशन डडेल्धुराको आलितालमा सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि अधिवेशन सोमवार दिउसो आलिताल गाउँपालिकाको सभाकक्षमा उद्घाटन गरिएको थियो । अधिवेशनबाट प्रदेश अध्यक्षसहित २७ सदस्यीय नयाँ कमिटि गठन हुने प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष भूवनेश्वरप्रसाद बोहराले जानकारी दिए ।
प्रेस सेन्टर नेपालको विधान अनुसार प्रदेशको कमिट २७ सदस्यीय हुने प्रावधान छ । जसमा २२ निर्वाचित र पाँच जना सदस्यहरु लाई मनोनित गरिन्छ । पिछडिएका, महिला, जनजाती, दलितलगायतका वर्गहरुबाट पाँच जना सदस्य मनोनित गर्ने प्रावधान विधानमा रहेको प्रेस सेन्टर नेपाल डडेल्धुरा कमिटि अध्यक्ष भिम बहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार प्रदेशको नयाँ कमिटि अध्यक्षका लागि वर्तमान अध्यक्ष भूवनेश्वरप्रसाद बोहरा, महासचिव कर्ण चंद र केन्द्रिय सदस्य हरिष विक आकांक्षी देखिएका छन । अध्यक्षलगायत नयाँ कमिटि चयनका लागि सहमतीको प्रयास थालिएको छ ।
अधिवेशन उद्घाटन सत्रका प्रमुख अथिति रहेका नेकपा माओवादी केन्द्र पार्टीका सुदूरपश्चिम प्रदेश ईञ्चार्ज गिरिराजमणी पोखरेल पत्रकारहरु व्यवसायीक हुनुुपर्नेमा जोड दिए । बढ्दो वेरोजगारी समाजमा पत्रकारहरुले निश्पक्ष, स्वच्छ पत्रकारिता गर्दै व्यवसायीक रुपमा अघि बढ्नुपर्ने उनले बताए
।
पत्रकार एवं कुनै पनि नागरिकले पार्टी प्रति आस्था राख्नु स्वभाविक हो । उनले भने, आस्था र विचार फरक कुरा हुन । तर पत्रकारले पत्रकारिता गर्ने हो भने सधै निश्पक्ष ढंगले गर्नु पर्छ । समाजको ऐना पत्रकारिता भएकाले शुसासन, पारदर्शिता र समाजमा खबरदारी गर्न निश्पक्ष पत्रकारिता गर्न पत्रकारलाई मेरो आग्रह छ ।












