पानी पार्ने प्रणाली भित्रिदै, पानी नपर्दा कृषक निराश

Image

डडेल्धुरा । बिहीबारदेखि पश्चिम नेपालबाट वर्षा गराउने अर्को प्रणाली भित्रन लागेको मौसमविद्ले जानकारी दिएका छन् । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली भित्रिए पनि सरदरभन्दा कम वर्षा भएको छ ।

बिहीबारदेखि भित्रने प्रणाली शुक्रबार बागमतीहुँदै कोशी प्रदेशसम्म पुग्ने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । उनकाअनुसार यो प्रणालीले पहाडी र हिमाली भेगमा उल्लेखनीय वर्षा गराउने छ ।

यसपालि पश्चिम नेपालमा छिटपुटदेखि हल्का वर्षा भए पनि काठमाडौं उपत्यकामा भएको छैन । मौसम विभागकाअनुसार १६ देखि फागुन १३ सम्म १०.६० मिलिमिटर मात्रै वर्षा भएको छ। जबकि यो अवधिमा सरदर ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने विभागले जनाएको छ।

विभागले हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको बताएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकि भागमा मौसम मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हुस्सुरकुहिरो लागेको छ ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पानी नपर्दा कृषक निराश

कृषकहरु हिउँदे वर्षा नहुँदा निराश भएका छन् । बर्खायाममा समेत वर्षा नहुँदा बाली उत्पादनमा घाटा व्यहोरेका कृषकहरु हिउँदे वर्षा नहुँदा झन निराश भएका हुन ।

मध्य फागुनसम्म पनि पहाडका अधिकांश पाखो जमिनमा गहुँ उम्रिन पाएको छैन । बैतडीको पाटन नगरपालिका १ साकारका गणेश भट्टराईले गत असोजयता पानी नपर्दा कृषकले ठुलो समस्या भोग्नुपरेको दुःखेसो सुनाए ।

सिँचाइ सुविधा नहुँदा बैतडीलगायत सुदूरपश्चिमका अधिकांश पहाडी क्षेत्रमा आकाशे वर्षाको भरमा खेती लगाउनुपर्ने बाध्यता छ । नियमित वर्षा नभएको वर्ष खेत बाझै रहने गरेको दशरथचन्द नगरपालिका ९ का कृषक देवदत्त जोशी बताउछन ।

हिउँदेयामको मुख्य बाली गहुँ खेतीका लागि असोजदेखि पानी परेको छैन । यहाँका अधिकांश खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा प्रत्यक वर्ष कृषकले ठुलो घाटा व्यहोर्नुपरेको छ । अधिकांश पाखो खेतमा फागुन दोस्रो हप्तासम्म गहुँ उम्रिन नपाएपछि आफूहरु चिन्तित बनेको पाटन नगरपालिका १० का कृषक धर्मराज भट्टले बताए ।