पत्रकार वरुण पनेरुले गरे तीन विद्यालयमा छात्रबृत्ति कोषको स्थापना

Image


डडेल्धुरा । दुई दशक देखि पत्रकारिता गर्दै आईरहेका पत्रकार वरुण पनेरुले डडेल्धुराका तीन वटा विद्यालयमा छात्रबृत्ति कोषको स्थापना गरेका छन । आफ्ना पूर्खाहरु एवं बुवाले अध्ययन, अध्यापन गरेका तीन वटा सामुदायीक विद्यालयमा उनले छात्रबृत्ति कोषको स्थापना गरेका हुन । सामुदायीक विद्यालयमा अध्ययनरत निम्न वर्गका जेहेन्दार विद्यार्थीहरु लाई पोशाक, कापि, कलम खरिद गर्न छात्रबृत्ति कोषको स्थापना गरेको उनले बताए ।

आफुले आम्दानी गरेको रकमको १० प्रतिशत छुट्याई विद्यालयमा छात्रबृत्ति कोषको स्थापना गरेको उनले बताए । हालसम्म उनले भागेश्वर गाउँपालिका २ रुपालमा रहेको असिग्राम मावि र भागेश्वर गाउँपालिका ३ बोगटाको सरस्वती नमूना माविमा २५/२५ हजार रुपैयाँको छात्रबृत्ति कोष स्थापना गरेका छन । यी दुई विद्यालयमा उनका पूर्खा बाजे, बुवाहरुले अध्ययन गरेका थिए ।

उनी पढेको एवं उनका बुवाले अध्यापन गरेको परशुराम नगरपालिका ६ चंदनीको शिद्धनाथ माविमा एक लाख रकमको छात्रबृत्ति कोष स्थापना गर्ने उनले बताए । शिद्धनाथ माविको आईतबार हुने स्वर्ण जयन्ती तथा अभिभावक दिवसका अवसरमा हाल ५० हजार रुपैयाँको छात्रबृत्ति कोष स्थापना गर्न लागेको उनले बताए ।

उनले आफ्ना स्वं बुवा कृष्णप्रसाद पनेरुका नामबाट स्वं कृष्णप्रसाद अध्ययन छात्रबृत्ति कोष स्थापना गरेका हुन । उनका बुवा शिद्धनाथ माविको प्रधानाध्यापक रहेको समयमा २०५३ मंसिर ९ गते सडक दुर्घटनामा परि निधन भएको थियो । विद्यालयको कामका लागि जिल्ला सदरमुकाम डडेल्धुरा जाँदै गरेका उनको बुवाको भिमदत्त राजमार्गको गैरा बजार नजिक बस दुर्घना हुदा निधन भएको थियो ।

पत्रकार पनेरुले २०६१ सालदेखि पत्रकारिता सुरु गरेका थिए । उनले तत्कालिन फारेवष्ट दैनिक नामक पत्रिकाबाट पत्रकारिता सुरु गरेका थिए । त्यस यता निरन्तर सक्रिय पत्रकारिता गरिरहेका पनेरु नेपाल टेलिभिजन, एभिन्यूज, नागरिक दैनिक हुदै १० वर्ष यता कान्तिपुर टेलीभिजनमा डडेल्धुराबाट पत्रकारिता गरिरहेका छन । उनी अहिले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका कोषाध्यक्षसमेत रहेका छन ।

पत्रकारितासंगै सामाजिक कार्यमा पनि सक्रिय रहेका पनेरु डडेल्धुरा जेसिज वर्ष २०२० का अध्यक्षसमेत रहेका छन ।