जुम्ला । झन्डै छ महिनादेखि वर्षा नहुँदा र फागुन मध्यसम्म पनि हिउँ नपर्दा निराश भएका कर्णालीका किसानलाई बिहीबारदेखि भइरहेको वर्षा र हिमपातले उत्साही बनाएको छ । खडेरीले सुक्दै गएको हिउँदेबालीका लागि यो वर्षा ‘तेलारी’ सरह भएको छ ।
जुम्लाको उच्च हिमाली क्षेत्रमा लामो समयपछि हिमपात भएको हो । यहाँको होचो क्षेत्रमा शुक्रबार साँझदेखि पानी परिरहेको छ । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा शनिबार २४ घण्टादेखि निरन्तर सिमसिम पानी परिरहेको छ भने डाँडाकाँडामा हिउँ परिरहेको हो ।
बालीलाई मलम
झन्डै छ महिनादेखि वर्षा नहुँदा हिउँदे बाली जौ र गहुँ धेरै जसो डढेर सखाप झैँ भएको छ । अहिले भने पानीसँगै हिउँ परेपछि थोरै हिउँदे बाली जोगिने हो कि भन्ने आशा किसानमा पलाएको छ । सिँजा गाउँपालिका–६ का किसान जयबहादुर बुढाले अहिले पानी आएर निकै राम्रो भएको बताए ।
कृषि विकास कार्यालयका कृषिविज्ञ लक्षिराम महतका अनुसार यो हिउँ र पानीले आगामी बालीलाई राम्रो बनाउने छ । उनले अब ओखर, स्याउका बिरुवाका लागि निकै राम्रो हुने बताए ।
उनका अनुसार यस पटक जमिनलाई पुग्ने पानी परेको छ । हिमपात र वर्षा नहुँदा सुक्खा मौसमले बालीनाली सुकेका मात्र होइन, मानिसलाई रुघाखोकी, भाइरल ज्वरोले सताउँदै आएको थियो । स्वास्थ्यकर्मीहरूका अनुसार पानी नपरेका कारण रुघाखोकीका बिरामी निकै बढेका छन् । अब वातावरण पनि स्वच्छ हुने आशा गरिएको छ ।
हवाई सेवा र राजमार्ग अवरुद्ध
हिमपातका कारण नाग्म गमगडी राजमार्गसमेत बन्द भएको छ । घुच्चीलेकलगायतका अग्ला क्षेत्रमा हिउँका कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार हिउँ पन्छाउन डोजर पठाइएको छ ।
यसै गरी लगातारको हिउँ र पानीका कारण जुम्लामा आउने हवाई सेवा पनि सञ्चालन हुन सकेको छैन । नागरिक उड्डयन कार्यालय जुम्लाका सूचना अधिकारीका अनुसार वर्षा र हिउँका कारण शुक्रबार र शनिबार उडान हुन सकेन ।














