डडेल्धुरा । द्धन्दकालमा ध्वस्त पारिएको अछाम दरबार २३ वर्ष पछि पुनर्निर्माण गरिएको छ । दरबारको एक कार्यक्रमका बिच सोमबार उद्घाटन गरिएको छ । दरबारको उद्घाटन संघिय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गरे ।
अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल मार्फत गृह मन्त्रालयलाई हस्तान्तरण गरि दरबारको उद्घाटन गरिएको हो । दरबारलगायतका सम्पदाहरु लाई आम्दानीका स्रोत बनाउन सकिने उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले बताए ।
दरबारको पुनर्निर्माण गरिएपछि पुरानै दरबारको स्वरुप देखिएको छ । ३२० वर्गमिटरमा फैलिएको दरबारको पुनर्निर्माणमा दुई करोड ४८ लाख रकम खर्च भएको छ । दरबार पुनर्निर्माणको काम २०६७ सालमा सम्पन्न गर्ने गरि राजेन्द्र, साउद, तुल्छिदुर्गा, बडिमालिका र कुँबर निर्माण कम्पनीसंग २०६५ सालमा सम्झौता भएको थियो । तर दरबार पुनर्निर्माण गर्न सम्झौता मितिभन्दा १४ वर्ष थप लाग्यो ।
२०५८ फागुन ४ गते तत्कालिन विद्रोही माओवादीले आक्रमण गरि दरबार ध्यस्त पारेको थियो । जिल्लाको सदरमुकाम मंगलसेन बजारको मध्य भागमा रहेको दरबारमा त्यो बेला सरकारी कार्यालयहरु थिए । दरबारमा जिल्ला प्रशास कार्यालय, मालपोत, जिल्ला अदालत कार्यालयहरु थिए । दरबारमा माओवादीले आक्रमण गरेका बेला भने जिल्ला प्रशासन कार्यालय मात्रै थियो ।
माओवादीको आक्रमणमा परि तत्कालिन प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसंगै ५३ जना सेना, ५९ जना प्रहरी, दुई जना निजामती कर्मचारी र आठ जना सर्वसाधारण गरि एक सय २२ जनाको ज्यान गएको थियो ।
अछाम दरबारको निर्माण झण्डै डेढ सय वर्ष अघि मंगलसेनका तत्कालिन राजा टीकाभुक शाहको पालामा गरिएको थियो । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा दरबार खरिद गरेको इतिहास छ ।












