डडेल्धुरा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
हाल सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । अहिले बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।
मंगलबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।












