पानीको मुहान संरक्षण गर्न उग्रतारा क्षेत्रमा रिचार्ज पोखरी

Image

डडेल्धुरा । खानेपानीका मुहान सुक्न नदिन अमरगढी नगरपालिका– ८ मा अवस्थित उग्रतारा मन्दिर क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिन थालिएको छ । वडा कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको बजेटबाट उक्त क्षेत्रमा चार वटा रिचार्ज पोखरी निर्माण गरिरहेको वडाअध्यक्ष नरबहादुर साँकीले बताए ।

उनका अनुसार उक्त शिर्षकको दुई लाख ८९ हजार बजेट मध्येबाट स्थानीयलाई रोजगारीसँगै पोखरी निर्माणको काम धमाधम भइरहेको छ । ‘पहिले उग्रतारा क्षेत्रमा एउटा पोखरी थियो । त्यसैमा वर्षातको पानी जम्मा हुने गरेको थियो । तर, हाल उक्त पोखरी पुरिएर उग्रतारा क्षेत्रका खानेपानीका मुहान सुक्न थालेपछि वडा कार्यालयबाट सोही पोखरी पुनर्निर्माण सँगै थप तीन वटा पोखरी थपेका छौं’ उनले भने ।

उनका अनुसार वडाले स्थानीयलाई रोजगारीसँगै उग्रतारा क्षेत्रका न्वाला तथा मुहानहरु सुक्न नदिन यो काम गर्न थालेको हो । ‘विगत एक महिनादेखि पोखरी खन्ने काम भइरहेको छ । बजेट पुगेमा थप पोखरी पनि खनिनेछन्’ वडाअध्यक्ष साँकीले भने । वर्षाको समयमा आकाशे पानी संकलन गर्न पनि रिचार्ज पोखरी प्रभावकारी हुने उनले बताए ।