सम्पन्न भयोे बालुवा खाने घटाल विशु जाँत (भिडियो)

Image
default

डडेल्धुरा । देवताका धामि कापेर बालुवा खाने घटाल बाबाको जाँत (मेला) सम्पन्न भएको छ । प्रत्येक वर्ष वैशाख २ गते हुने प्रशिद्ध एवं शक्तिशाली मानिने घटाल बाबाको विशुजाँत (मेला) मंगलबार सम्पन्न भएको हो । भिम र हिडम्बाका पुत्र घतोत्कचको बिधिवत रुपमा पूजाआजा हुने घटालथानमा जाँत हुने गरेको छ ।

अमरगढी नगरपालिका ३ डोटी खोलामा रहेको घटालथानमा पूजाआजा पछि घटाल बाबाका धामि कापेर बालुवा खाने गर्नुहुन्छ । घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रुपमा देवताका धामिले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताए ।

उनका अनुसार घटालको देउरो (आभूषणसहितको डोली, शंक, घण्टा, नेजाध्यजा) महाकाली नदीको परशुराम धाममा स्नान गरिन्छ । पहिले घटालका धामिले सात सुप्पा (करिब डेढ कुन्टल) बालुवा खाने भएकाले एक स्थनमा सात सुप्पे भन्ने स्थान नै नामाकरण गरिएको उनले बताए । हालभने देवताका धामि कापेर थोरै भएपनि बालुवा खाने गरेको देख्न सकिने उनले जानकारी दिए ।

घटाललाई असिग्राम देवताको द्धारपालका रुपमा लिईन्छ । उनले भने, घटालका चार वटा द्धारपाल डुणेश्वर देवताका मन्दिर यस क्षेत्रका चार वटा ठाउँमा रहेका छन । डुणेश्वर देवताका घटालका आनबान हुन । घटाल देवताका धामिसंगै द्धारपाल डुणेश्वर र मसानीका धामिले बालुवा खाने गर्छन ।

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । विशु जाँतको एक दिनअघि चम्सालमा रहेको देउघरबाट देउताको देउरो घटालस्थान पुर्याइने वडा नं. ३ का वडा अध्यक्ष तिर्थ ऐरले बताए । विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरु पनि एकै दिनका लागि भएपनि घर फर्कने गरेको उनले बताए ।

द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डव बिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेको धार्मिक ग्रन्थहरुमा उल्लेख भएको पाईन्छ । घटोत्कचले कौरव सेना माथी धावा बोलेर ठूलो क्षति पुर्याएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

लडाइ मैदानमै वीरगति प्राप्त गर्नुभएका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उहाँलाई कलियुगमा ख्याति प्राप्त भगवानका रुपमा मान्यता पाउने वरदान दिएको परापूर्वकाल देखिको भनाइ रहेको छ । सदियौदेखि त्यहि मान्यता अनुरुप घटाल बाबालाइ यसक्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानकासाथ धार्मिक परम्परा अनुसार पूजाआजा गरि जाँत मनाउने गरिन्छ ।