डडेल्धुरा । भित्रिमधेश क्षेत्र जोगबुडाको सिंचाई कुलोमा लडेर चोट लाग्दा एक महिलाको मृत्यु भएको छ । परशुराम नगरपालिका ५ महाकाली नदी किनारको परिगाउँमा महिलाको मृत्यु भएको हो । स्थानीय धनादेवी बिष्टको सोमबार बेलुकी घर नजिकैको सिंचाइ कुलोमा लडेर ज्यान गएको उनका श्रीमान कृष्ण बहादुर बिष्टलाई उदृत गर्दै आफन्ताले जानकारी दिएका छन । उनका श्रीमान बिष्ट नेपाल कम्युनिस्ट पार्टी एमालेका सुदूरपश्चिम प्रदेश कमिटि सदस्य हुन ।
मृतक बिष्ट सोमबार बेलुका करिब ८ः०० बजेको समयमा घर नजिकै खेतमा गएको बुझिएको छ । उनी खेतमा पानी लगाउन गएको हुनसक्ने बुझिएको छ । अवेर रातीसम्म उनी घर नफर्किएपछि खोजी गरिएको थियो । गाउँलेहरु खोज्न जाँदा नजिकैको सिंचाइ कुलोमा लडेको र खुट्टा, टाउकोमा चोट लागेको अवस्थामा फेला पारेकी थिईन ।
उनलाई उपचारका लागि सोमबार राती नै जोगबुडा अस्पताल पुगाईएको थियो । जोगबुडा अस्पतालले बिष्टलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक सुरज रोकायाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ ।
प्रहरी निरिक्षक रोकायाका अनुसार मृतक बिष्टको निधारमा ठुलो घाउ र खुट्टामा चोट देखिएको छ । घटनास्थलको जाँचबुझ गरि पोष्टमार्टम रिपोर्टबाट मृत्युको कारण पत्ता लाग्ने उहाँले बताउनुभयो ।











