डडेल्धुराका पालिकाको बजेट तीन अर्व ८९ करोड बढी

Image

डडेल्धुरा । जिल्लाका सात वटा पालिकाले तीन अर्व ८९ करोड १२ लाख बढीको बजेट ल्याएका छन । यहाँका सात वटै पालिकाले नयाँ आर्थिक बर्ष २०८२/०८३ का उक्त बजेट प्रस्तुत गरेका छन । सबैभन्दा बढी बजेट भित्रिमधेशको परशुराम नगरपालिकाले ८० करोड ४९ लाख ४१ हजार ४३५ रुपैयाँको बजेट ल्याएको छ ।

यसै गरी अमरगढी नगरपालिकाले ५८ करोड २५लाख ८८ हजारको बजेट प्रस्तुत गरेको छ । अमरगढीले आन्तरिक आय एक करोड ६० लाख रकम अनुमान गरेको छ । नेपाल सरकारवाट ४१ करोड १० लाख, प्रदेश सरकारबाट पाँच करोड ८१ लाख ३२ हजार रकम वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने, संघिय वित्तिय हस्तान्तरण मार्फत प्राप्त हुने संघिय राजश्व बाडफाँड रकम ३५ लाख ५९ हजार र मालपोत रजिष्ट्रेशन शुल्कबाट ३५ लाख आय हुने अनुमान गरिएको छ ।

गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार ७३८ को रुपियाँको बजेट ल्याएको छ । पालिकाले व्ययतर्फ चालुअन्तरगत अनुमानित रकम २७ करोड ८७ लाख २६ हजार ३८ र पुँजीगत तर्फ अनुमानित रकम १६ करोड ८७ लाख ४८ हजार रहने जनाएको छ । पालिकाले विभिन्न शिर्षकमा संघ सरकार, प्रदेश सरकार र पालिकाको आन्तरिक कोषलाई आयको रुपमा प्रस्तुत गरेको छ ।

भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष पुष्पा ठकुराठीले बजेट पेश गरेको बजेट सर्वसहमतीबाट पारित भएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीदत्त भट्टले बताए ।

नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले बजेटमा स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, सिँचाइ, कृषि र पशुपालन जस्ता सेवा र उत्पादनमूलक क्षेत्रमा विशेष प्राथमिकता दिइएको जानकारी दिए ।

आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार रुपैयाँको बजेट ल्याएको । प्रस्तावित कुल बजेटमध्ये ३१ करोड २० लाख २५ हजार रकम चालु खर्चका लागि छुट्याएको छ भने २२ करोड ६ लाख ७० हजार रुपैयाँ पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । चालुतर्फ ५८.५७ प्रतिशत र पुँजीगततर्फ ४१.४३ प्रतिशत खर्च विनियोजन गरिएको छ ।

अजयमेरु गाउँपालिकाले ५३ करोड दुई लाख ३८ हजार रुपियाँको बजेट ल्याएको छ । जसमध्ये चालु खर्चतर्फ १० करोड ३५ लाख, विविध तथा पुँजीगततर्फ १० करोड ५५ लाख ३३ हजार विनियोजन गरेको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त सर्शत समपूरक र विशेष अनुदान कार्यक्रमबाट चालु तथा पुँजीगत खर्च ३२ करोड १० लाख हुने अनुमान गरिएको उपाध्यक्ष बसन्ती पालले बताईन ।