सुदूरपश्चिममा रक्तअल्पता उच्च

Image

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा रक्तअल्पताको समस्या धेरै उच्च रहेको छ । यहाँका हरेक एक सय बालबालिका मध्ये ४५ जनामा रक्तअल्पताको समस्या देखिएको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । शनिबार डडेल्धुरा सदरमुकाममा प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको स्थानीय तहमा पोषण कार्यक्रम कार्यान्वयन सम्बन्धमा पोषण सहजकर्ताहरु संग समिक्षा कार्यक्रममा निर्देशनालयका जनस्वास्थ्य अधिकृत धिरेन्द्र नाथले यहाँको झण्डै आधा जनसंख्यामा रक्तअल्पताको समस्या देखिएको बताए ।

सुदूरपश्चिमका सात पहाडी जिल्लाका ६६ वटा पालिकाका पोषण संयोजकहरु संग गरिएको समिक्षा कार्यक्रममा उनले रक्तअल्पताको समस्या देशभर ४३ र सुदूरपश्चिममा ४५ जनमा देखिएको बताए । ४० प्रतिशतभन्दा माथि उच्च मानिन्छ । उनले भने, हाम्रो प्रदेशमा एक सय मध्ये ४५ जनामा रक्तअल्पता हुनु धेरै उच्च हो । यसको नियन्त्रणका लागि संघिय सरकारले नीति तथा योजना बनाउने भएकाले प्रदेश स्वास्थ्य निर्देशनालय अनविज्ञ रहने उनको भनाई थियो ।

बालबालिकासंगै किशोरी र गर्भवती महिलामासमेत रक्तअल्पताको समस्या देखिएको उनले बताए । एक सय गर्भवती महिलाहरु मध्ये ३४ मा रक्तअल्पताको समस्या देखिएको तथ्यांक उनले प्रश्तुत गरे । प्रजनन उमेरका महिलाहरुमा पनि रक्तअल्पताको समस्या रहेको उनले जानकारी दिए ।

शरीरमा रातो रगतको कोशिका वा हेमोग्लोबिनको मात्रा सामान्यभन्दा कम हुनु रक्तअल्पता हो । यसले गर्दा शरीरका अंगहरूमा पर्याप्त अक्सिजन पुग्दैन । आइरनको कमीले रक्तअल्पता हुन्छ । रगत बनाउन आइरन आवश्यक हुन्छ ।

उनका अनुसार गत जेठ महिनामा गरिएको तथ्यांक संकलनमा सुदूरपश्चिम प्रदेशमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुमा कुपोषण पनि उच्च छ । उमेर अनुसार उचाई नभएका बालबालिका एक सय मध्ये २५ जना, उमेर अनुसार तौल नहुनेको संख्या २५, उचाई अनुसार तौल नहुनेको संख्या १५ जना रहेको छ । मध्यम र शिघ्र कुपोषण सुदूरपश्चिममा १५ प्रतिरशत रहेको उनले बताए ।

६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाको संख्या सुदूरपश्चिमा २ लाख १० हजार ४४४ रहेको र यी मध्ये उचाई अनुसार तौल नभएकाको संख्या ३१ हजार ७७७ रहेको उहाँले बताउनुभयो । वर्षभरीमा ८२ हजार ६२० बालबालिका कुपोषित हुने बताउदै उनले प्रतिशतका हिसाबले ४५ हुन आउने र यो आपतकालिन अवस्था भएको जानकारी दिए ।

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले कुपोषण र रक्तअल्पतामा कमि ल्याउन आगामी साउन महिना देखि पंच वर्षिय योजना लागु हुने जानकारी दिईन । साउन महिनादेखि सबै पालिकामा पुगेर पंच वर्षिय योजना बनाउने उनको भनाई थियो । दिर्घकालिन समृद्धि सुनिश्चितताका लागि आयोगले स्वस्थ्य महिला, संयमित बालबालिका, सम्मानित जेष्ठ नागरिक नारा दिई दशक अभियान संचालन गरिने उनले बताए ।

समिक्षालगायतका अन्तरक्रिया कार्यक्रमहरु पोषणकर्मीसंग वर्षको सुरुवात वा मध्यतिर राख्न सके असल अभ्यासले दिशानिर्देश गर्ने र नयाँ आर्थिक वर्षका लागि योजनाका खाका बनाउन सहज हुने उनको भनाई थियो । पोषण सहजकर्ताका लागि नयाँ आर्थिक वर्षमा भत्ताको व्यवस्था गरेको जानकारी दिदै उनले खाजा वाफत केही रकम उपलब्ध गराउन नीति तथा योजनामा समावेस गरिने बताईन ।