डडेल्धुरा । पछिल्ला वर्षहरुमा घरेलु तथा साना उद्योग दर्ता बढेपनि नविकरण भने घट्दो क्रममा छ । डडेल्धुरामा हालसम्म चार हजार ७८४ घरेलु तथा साना उद्योग दर्ता भएका छन । तर चालुआर्थिक वर्षको अहिलेसम्म ६९० उद्योग मात्रै नविकरण भएका छन । घरेलु तथा साना उद्योग कार्यालयले मंगलबार गरेको वार्षिक समिक्षा तथा बैंकिंग सेवा सम्बन्धि सरोकारवाला एवं उद्यमी व्यवसायीहरु बिच अन्तरक्रिया छलफल कार्यक्रममा कार्यालय प्रमुख केशव भण्डारीले हालसम्म उद्योग तर्फ २५२ र वाणिज्य तर्फ ४३८ फर्म मात्रै नविकरण भएको जानकारी दिए ।
उनका अनुसार यस वर्ष १५५ वटा उद्योग दर्ता भएका थिए । यसै वर्ष ७८ वटा उद्योग खारेजी भएको उनले बताए । डडेल्धुरामा कृषि र पशुपंघि पालनका फर्म बढी दर्ता हुने गरेका छन । कार्यालय प्रमुख भण्डारीले भने, अनुदानका लागि फर्म दर्ता अनिवार्य भएका कारण दर्ता गर्नेक्रम बढेको छ । तर अनुदान नपाएपछि नविकरण नगर्नेक्रम पनि बढेको छ । कार्यालयमा तफाईले केही सहयोग गर्नु भएन भन्दै स्थानीयहरुले आक्रोश पोख्ने उनको भनाई छ ।
कार्यालय प्रमुख भण्डारीले हाल जिल्ला सदरमुकाममा मझौला उद्योगहरु संचालनमा रहेको जानकारी दिदै यी उद्योगहरुलाई समेत अनुदानमा सहयोग गरेको बताए । भट्मासको तेल र सोयविन बनाउने फारवेष्ट एग्रो जाईन्ट कम्पनीलाई घेरबारका लागि १० लाख अनुदानसंगै उग्रतारा पीउने पानी, जीएम सस नम्किन उद्योग, फर्निचर उद्योगलाई सहयोग गरेको उनले बताए ।
पूजीगत तर्फ कुल ६४ लाख २५ हजार रकम विनियोजन भएकोमा १०५ जनालाई शिप तालिम, ११ वटा उद्योगलाई प्रबिधि हस्तान्तरण गरिएको उनले बताए । १३ लाख रकमको शिप तालिम र २० लाख रकमको प्रबिधि हस्तान्तरण गरिएको उनले जानकारी दिए । यसकासाथै कारागारका कैदिबन्दिलाई बुनाई तालिम, उखु प्रबर्दनलागयतका कार्यक्रमहरु संचालन गरेको उनको भनाई थियो ।












