शवमा गरिने दलाली रोक्दै सुरक्षित आप्रवासन

Image

डडेल्धुरा । रोजगारीका लागि खाडी एव अन्य मुलुकमा गएकाहरुको विभिन्न कारणले हुने मृत्यु पछि शवमा हुदै आएको आर्थिक लेनदेन एवं दलाली रोक्न पछिल्ला वर्षहरुमा सुरक्षित आप्रवासन (समी) कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सुरुमा स्वीस सरकारको बजेटमा सुरु भएको समी कार्यक्रम अहिले नेपाल सरकार संघिय, प्रदेश र स्थानीय सरकारले अपनत्व लिईरहेका छन ।

श्रम स्विकृति लिएर विदेश गएपछि विदेशमै मृत्यु वा अंगभंग हुदा बैदेशिक रोजगार बोर्डले करिब २५ लाख रुपियाँ क्षतीपूर्ती वाफतको रकम मृतकका आफन्तलाई दिने गरेको छ । तर यसबारे जानकारी नहुदा दलालहरुले रकम उपलब्ध गराउनेभन्दै पीडितबाटै मोटो रकम असुल्दै आईरहेका छन । दलालहरु बाट जोगिन सुरक्षित आप्रवासनले स्थानीय सरकारका रोजगार शाखा र जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र शाखा स्थापना गरि परामर्श, जानकारीसहित सहयोग गर्दै आईरहेको छ ।

स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर सीप किरेर मा जाऔं, अभियान संचालन गर्दै समीले नेपाल सरकार वैदेशिक रोजगार बोर्डले गर्ने गतिबिधि र कामहरु बारे जानकारी दिईरहेको समीका कार्यक्रम अधिकृत बिष्णु अर्यालले जानकारी दिए ।

अमरगढी नगरपालिकाको सुरक्षित आप्रवासन समी, रोजगार शाखाले आयोजना गरेको पत्रकार तथा संचारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रममा कार्यक्रम अधिकृत अर्यालले विदेशमा मृत्यु भएकाहरुको क्रिया गोठमै पुगेर केही दलालहरुले आफुले क्षतीपूर्ती रकम उपलब्ध गराईदिने भन्दै खाली चेकमा हस्ताक्षर गराई रकम असुल गरिरहेको पाईएको उनले बताए ।

बैदेशिक रोजगार बोर्डले उपलब्ध गराउने क्षतीपूर्ती वाफतको रकम सम्बन्धित पालिकाको रोजगार शाखाबाट नै प्रक्रिया अघि बढाई प्राप्त गर्न सकिन्छ । उनले भने, सडक बाटो भएको स्थानसम्म शव पनि पुगाईन्छ । तर यो प्रक्रिया बारे थाहा नभएकाहरु लाई दलालहरुले आफुले गरिदिने भन्दै रकम असुलेको पाईएको छ । यसलाई रोक्न श्रम स्विकृती लिई विदेश गएका परिवार वा आफन्तहरुले आ आफ्नो पालिकाको रोजगार शाखा वा जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको आप्रवासी स्रोत केन्द्र वा उपकेन्द्रबाट सबै जानकारी लिन सकिन्छ ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अंगभंग भएमा सरकारी निकाय, रोजगारदाता र बीमा कम्पनीहरुले आर्थिक सहायता गर्दै आईरहेका छन । उनका अनुसार सरकारी निकाय अन्तरगत वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोष, बीमा कम्पनी अन्तरगत स्वदेशका बीमा कम्पनीहरु र गन्तव्य मुलुकका बीमा कम्पनीले आर्थिक सहायता गर्दछन ।

वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोष अन्तर्गत वैदेशिक रोजगारमा रहेका कुनै पनि व्यक्तिको मृत्यु भए एक वर्ष भित्रमा १० लाख रुपियाँ, मृतकका परिवारलाई आर्थिक सहायता, शव घरसम्म निःशुल्क पुगाउने, नेपाल फर्केको एक वर्ष भित्रमा अधिकतम आर्थिक सहायता तथा क्षतिपूर्ती रकम सात लाख रुपियाँ सम्म, अंगभंग भएका कामदारलाई आर्थिक सहायता तथा क्षतीपूर्ती, मृतक तथा पूर्ण अशक्त कामदारका छोराछोरीलाई छात्रबृत्ति, आधारभूत तहलाई १२ हजार, मध्यमित तहलाई १६ हजार रुपियाँ, नेपाल फर्केको एक वर्ष भित्रमा अधिकतम आर्थिक सहायता तथा क्षतीपूर्ती रकम सात लाख रुपियाँ, विरामी कामदारलाई उपचार खर्च, कामदारका परिवारलाई उपचार खर्च, उपचार गराएको एक वर्ष भित्रमा अधिकतम २० हजारसम्म खर्च पाईने उनले जानकारी दिए ।

समी कार्यक्रम नेपालका ५६ जिल्लाहरुमा लागुभएको छ । सन २०११ मा खोटाङ र सर्लाही गरी दुई वटा जिल्लाबाट पहिलो चरण अन्तर्गत सुरु भएको कार्यक्रम सन २०२४ देखि २०२८ सम्म चौथो चरणमा संचालनमा रहेको उनले बताए । सन २०२८ सम्म ७७ जिल्ला र ७५३ वटै पालिकाहरुमा लागुभईसक्ने उनले बताए । डडेल्धुरामा समी कार्यक्रम हाल अमरगढी नगरपालिकामा मात्रै लागु भएको छ । नयाँ आर्थिक वर्षदेखि भागेश्वर, अजयमेरु र आलिताल गाउँपालिकामा पनि सुरु हुने उनले बताए ।

हालसम्म सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका १५ वटा पालिकमा समी कार्यक्रम संचलनमा छ । आगामी वर्ष ५० वटा पालिकासम्म पुग्ने लक्ष्य रहेको उनले जानकारी दिए ।